अन्तरपालिका फुटबल उपाधि थाहालाई



हेटौंडा, (नेस) ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको छ । शनिबार भएको फाइनलमा हेटौंडा उपमहानगरलाई सडनडेथमा हराउँदै थाहा नगरले पहिलो संस्करणको उपाधि जितेको हो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमा थाहा विजयी भएको थियो । सडन डेथमा हेटौंडाका खेलाडीले प्रहार गरेको बल बाहिर गएपछि थाहा नगरपालिकाले २–१ उपाधि चुमेको हो । त्यसअघि खेलको २७औं मिनेटमा हेटौंडाले अनिष महर्जनको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा बिनोद घलानले गोल गर्दै २–० को अग्रता लिएको हेटौंडाले दोस्रो हाफमा सम्हालिएर खेल्न सकेन ।

५६ औं मिनेटमा थाहाका लागि राजन गोलेले गोल गर्दै थाहालाई खेलमा फर्काए । ७७औं मिनेटमा हेटौंडाका आकाश कटुवालबाट आत्मघाती गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

विजेता थाहा नगरपालिकाले उपाधिसहित नगद २ लाख रुपियाँ प्राप्त गर्यो भने हेटौंडाले नगद एक लाख रुपियाँ प्राप्त गर्यो । प्रतियोगितामा हेटौंडाका फत्तेमान घले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।

विधागतरूपमा थाहा नगरपालिका राजन गोले उत्कृष्ट फरवार्ड, हेटौंडाका गगन सिलवाल उत्कृष्ट डिफेन्डर, थाहाका विशाल स्यांतान उत्कृष्ट मिडफिल्डर, हेटौंडाका सफल तिमल्सिना उत्कृष्ट गोलकिपर र थाहाका नरेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरूले जनही ३ हजार नगद प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्