आधुनिकताले पुर्खौली पेसा लोप हुँदै



वासुदेव शर्मा, जाजरकोट ।

आधुनिकतासँगै पुर्खौली पेसा व्यवसाय लोप हुँदै गएका छन् । चाडपर्व, विवाह, व्रतबन्धमा स्थानीय कला संस्कृति झकाउने मादल, ट्याम्की, नेवर झ्याली लोप हुँदै गएका छन । पेसा गरी जीविकोपार्जन गरेका व्यवसयीहरुको पेसा संकटमा पर्दै गएको छ ।

उत्सवमा पौराणिक कला संस्कृतिलाई झल्काउने स्थानीय बाजा लोप हुँदै गएपछि पुर्खाले अँगाल्दै आएको कला–संस्कृति युवा पुस्ताले बिर्सिंदै जाने देखिन्छ । पुरानो कला संस्कृतिको संरक्षणकौ मौलिकता हराउँदै गएको छ । जीवनको यात्रामा दुःख पाएका गीतमार्फत व्यक्त गर्ने, चाडपर्वमा रमाइलो गर्ने मादल बजेको आवाज आएपछि ओल्लो–पल्लो घरबाट सुन्न जाने, गीत र मादल सुनेर भावुक हुँदै अतीतलाई सम्झने गरेका नागरिक मौलिक कला संस्कृति लोप हुँदै गएपछि पेसाकर्मी संकटमा पर्दै गएका छैन ।

कलासंस्कृति लोप भएसँगै यस्ता पेसाबाट जीविकोपार्जन गरेका नागरिकलाई जीवन जिउन मुस्किल भएको छ । भेरी नगरपालिका–१ रावतगाउँका ५३ वर्षीय तिले वादीलाई एक दशकअघि मादल बनाउने कामले भ्याइनभ्याई हुन्थ्यो । ‘सबै परिवार मादल बनाउने काममा व्यस्त हुन्थ्यौं, आवश्यक पर्ने कच्चापदार्थ संकलन तथा निर्माणमा व्यस्त हुने गरेका समुदाय मनोरञ्जनका आधुनिक सामग्री भित्रिएपछि दैनिक छाक टार्न समस्या परेको छ ।’ –उहाँको गुनासो छ ।

मादलको सट्टा आधुनिक साउन्डसिस्टम बज्न थालेपछि मादल बिक्री–वितरण हुन छाडेको वादे बताउनुहुन्छ । ‘सरकारले नयाँ पेसामा आबद्ध गरिदिएको भए हामीजस्ता गरिब–दुःखी परिवारमा सुखशान्ति आउने थियो ।’ –उहाँको कथन छ ।

‘विगतमा मादल बनाउने कामले खाना खाने फुर्सदसमेत नपाउने, चाडपर्वको समयमा ५ सय बढी मादल बिक्री–वितरण हुने गरेको थियो ।’ –६२ वर्षीय मर्दवीर वादीले बताउनुभयो । बढ्दो आधुकितासँगै मादल बिक्री हुन छोडेको उहाँको भनाइ छ । यी त प्रतिनिधि पात्रमात्र हुन् । सो गाउँका करिब २० घर–परिवारले मादल बनाउने पेसाबाट जीविकोपार्जन गर्ने गरेका थिए ।

पुर्खाले गर्दै आएको पेसा संकटमा परेपछि गाउँका करिब १० घर–परिवार कामको खोजी गर्दै भारत पलायन भएका छन् । भेरी नगरपालिकाका कार्यपालिका सदस्य वादी समुदायका अगुवा वीरबहादुर वादीले पुरानो पेसा व्यवासयलाई जोगाइराख्न, वाध्यवादनका सामग्रीलाई संरक्षण गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँको कथन छ ।

नागरिकको घर–आँगनमै आएको सिंहदरवार स्थानीय सरकारले वाध्यवाधनका सामग्री निर्माणका लागि लक्षित वर्ग कार्यक्रम सञ्चालन गरे युवा पुस्तामा हौसला बढ्ने व्यावसायिक हुने सरोकारवालाहरुले बताउने गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्