कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गर्ने नेता सिंहको घोषणा


काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गर्ने घोषणा गर्नुभएको छ ।यसअघिको संसदीय निर्वाचनमा मतदाताले केन्द्रीय नेतृत्व परिवर्तन गरेर ‘मत माग्न आऊ’ भन्ने सन्देश दिएकाले आफूले आजै सभापति पदमा उम्मेद्वारी दिन लागेको घोषणा सभामा जानकारी गराउनुभयो ।

एक सय ६५ प्रतिधिसभा निर्वाचन क्षेत्रमध्ये पार्टीले २३ क्षेत्रमा मात्र जित्नु नै नेतृत्व परिवर्तन गरेर मत माग्न आऊ भन्ने सन्देश भएको उहाँको भनाइ थियो ।“पार्टीले तोकिएको समयमा महाधिवेशन गर्न नसकेको, क्रियाशील सदस्यता वितरण विधानले तोकेको समयमा गर्न नसकेको, विधानले तोकेभन्दा फरक समयमा गरेको क्रियाशील सदस्यता वितरणमा पनि सबै कार्यकर्तालाई न्याय हुन नसकेकाले पार्टीमा विधि र पद्धति स्थापनाका लागि मैले सभापति पदमा उम्मेदवारी दिन लागेको हो”, नेता सिंहले भन्नुभयो ।

पार्टीभित्रको विचार समूहमा आफूले १३औँ महाधिवेशनमा पनि दाबी छोडेको उल्लेख गर्दै यसपटक अन्यायमा परेका सबै नेता कार्यकर्ताको न्यायका लागि आफ्नो नेतृत्वमा समूह खडा गर्न लागिएको उहाँले सुनाउनुभयो । सिंह समूहबाट उपसभापतिमा पूर्वउपप्रधानमन्त्री एवं पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाले उम्मेदवारी दिनुहुने भएको छ । समूहका अन्य पदाधिकारी एवं सदस्यका विषयमा छलफल भइरहेको घोषणासभामा जानकारी दिइएको छ ।

कार्यक्रममा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएकी कोइरालाले सभापतिका उम्मेदवारमध्ये राम्रो र दृष्टिकोण भएका नेता सिंह भएकाले आफू यो समूहमा लागेको जानकारी गराउनुभयो । “कांग्रेसलाई ठूलो दल बनाउन सबैलाई समेट्ने समूह यही हुन्छ, नयाँ अनुहारबाट नयाँ विचार दिन पनि यो समूहले पार्टी महाधिवेशन जित्छ, देशभरका नेता कार्यकर्ताले पार्टीमा नयाँ विचार खोजेका छन्”, उहाँले भन्नुभयो ।

कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले देशभरका महाधिवेशन प्रतिनिधिले नयाँ विचारसहितको कांग्रेसको माग गरेकाले पनि यो समूह बनाउनुपरेको जानकारी गराउनुभयो । घोषणासभापछि यो समूह रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसबाट ¥यालीसहित उम्मेदवारी दर्ता गर्न राष्ट्रियसभा गृह लागेको छ ।

कार्यक्रममा नेता सिंह र कोइरालालगायत समूहको अवधारणापत्र पनि सार्वजनिक गरिएको थियो । घोषणासभामा सांस्कृतिक झाँकी एवं बाजागाजासहित काठमाडौँ, ललितपुर र भक्तपुरका कांग्रेस नेता, कार्यकर्ता उपस्थित भएका थिए । विभिन्न जिल्लाका सभापतिले कार्यक्रममा उपस्थित भएर ऐक्यबद्धता जनाएका थिए ।