नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा विकास मानन्धरको उम्मेदवारी

‘युवाहरुलाई व्यवसायीक र नेतृत्वदायी भूमिका स्थापित गर्छु’–मानन्धर


मोतीराम तिमल्सिना , काभ्रे ।

आगामी पुष १ गते देखि ४ गतेसम्म पोखरामा हुन लागेको नेपाल जेसीजको राष्ट्रिय महाधिबेशनमा वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्षमा वर्तमान महासचिव विकास मानन्धरले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

सन् २००९ देखि निरन्तर जेसीज अभियानमा सक्रिय भई २०१५ मा जिल्ला अध्यक्ष, २०१६, २०१७, २०१८ र २०२१ का नेपाल जेसीजका विभिन्न जिम्मेवारीमा रहि युवाहरुलाई जेसीजको अभियान मार्फत नेतृत्वदायी भूमिकाका साथै ब्यवसायीक उदेश्यलाई थप सहज प्रदान गर्न मानन्धर सक्षम रहनु भएको छ ।

‘महासचिवको जिम्मेवारी अगावै राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय कार्यकारी उपाध्यक्ष लगायतको जिम्मेवारीमा रहेर जेसीस अभियानलाई अगाडी बढाएको अनुभव छ’–अध्यक्ष पदका उम्मेदवार मानन्धरले भन्नुभयो–‘राष्ट्रिय स्तरमा सरकार र सरोकारवाला निकायसँग युवाहरुको अवसर र क्षमताको ब्यवस्थापन गर्ने गरी नीति निर्माण र अवसर प्रदान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु ।’ मानन्धरलाई देशभरका युवाहरुको साथ रहेको अन्र्तक्रिया कार्यक्रममा जानकारी गराईएको थियो ।

विकास मानन्धर जिताउ अभियानका संयोजक एवं काभ्रे जेसीज २०१० का अध्यक्ष हिरा शर्मा नेपालले जेसीजको अभियानमा विकास मानन्धरको नेतृत्वदायी भूमिका स्थापित गर्न देशभरका जेसीज मनहरुको एकता र सहकार्य रहेको बताउनु भएको छ । जिल्लामा रहेका काभ्रे उद्योग बाणिज्य संघ, रोटरी, लायन्स, लियो, परिवार नियोजन संघ, बैक तथा वित्तिय क्षेत्र, पत्रकार महासंघ, सौन्दर्यकला ब्यवसायी संघ, यातायात ब्यवसायीहरु, सहकारी, कराँते तथा अन्य खेलकुदसँग सम्वन्धित संघ संस्थाहरुको ऐक्यवद्धता रहेको छ । शनिबार बनेपामा आयोजित कार्यक्रममा विकास मानन्धर जिताउन नैतिक तथा भौतिक समर्थन र प्रतिवद्धता ब्यक्त गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, काभ्रेका महासचिव रविन्द्र बैदार, जेसीजका पुर्व अध्यक्ष शान्तिरत्न शाक्य, धु्लिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, कराँते एकेडेमीका नवराज मानन्धर र गौतम मानन्धर, जेसीज धुलिखेलका पुर्व अध्यक्ष समिर ब्याञ्जु, परिवार नियोजन संघका अध्यक्ष शुभराज जोशी, सहकारी संघका कृष्ण तिमल्सिना, रोटरी काभ्रेकी अध्यक्ष रुकमणी सिग्देल, लायन्सका प्रल्हाद शर्मा हुमागाई, सौन्दर्यकला ब्यवसायी संघका केन्द्रिय सदस्य लक्ष्मी श्रेष्ठ, बैकंस रोशना राजबंशी, जेसीज तथा ब्लड डोनर्स एशोसिएसनका गणेश रञ्जित लगायतले विकास मानन्धरलाई जिताउन जिल्लाबासीहरुको तर्फबाट सबै खालको सहयोग रहने बताएका थिए ।

जेसीजको उम्मेदवारी घोषणासँगै चारवटा चरण पार गरे पछि मात्रै मतदान प्रकृयामा सहभागि हुन पाउने ब्यवस्था छ । पहिलो चरणमा अधिबेशन हुनु ४५ दिन अगावै उम्मेदवारी घोषणा गरिसक्नु पर्नेछ । दोश्रो तीन दिने स्कुल अथार्त उम्मेदवारहरुलाई लिईने कक्षामा सहभागि हुनु पर्नैछ । तेश्रो अन्र्तवार्ता र चौथो ककसमा सहभागि भए पछि मात्रै घोषणा गरिएको उम्मेदवारी कायम रहनेछ ।

कुनै एउटा प्रकृयामा सहभागि नजनाउने ब्यक्ति उम्मेदवारका लागि अयोग्य हुनेछ । मानन्धरले ब्यक्तिगत क्षमता तथा सामुहिक नेतृत्वका लागि सक्षम भएकाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिएको बताउनु भयो । काभ्रे जेसीजका अध्यक्ष सुबास बैद्यले मानन्धरको उम्मेदवारीसँगै काभ्रे जेसीजको ईतिहासमा गौरवपूर्ण समय भएकाले पुर्व अध्यक्ष मानन्धर जिताउन सक्रिय भएको बताउनु भयो ।