नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भव्य समारोहबीच उद्घाटन (फोटो फिचर)



न्युज अफ नेपाल ,काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन गरेका छन् । काठमाडौंको भृकुटीमण्डप प्राङ्गणमा आयोजित भव्य समारोहका बीच उनले महाधिवेशनको उद्घाटन गरेका हुन् । समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आएका अतिथिहरु उपस्थित छन् ।

महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । महाधिवेशनमा विभिन्न जातजाति वेषभूषा झल्कने नृत्यसहितका झाँकी प्रदर्शन गरिएको छ । सो क्रममा धिमे नाँच, मगर, गुरुङ, लिम्बू, थारु, भोजपरी, मैथली, खस आर्यका नाच प्रदर्शन गरिएको छ ।

 

महाधिवेशनका उम्मेदवारका व्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । महाधिवेशनमा भूपू सैनिक सङ्घका स्वयंसेवकले सहभागीको भीड व्यवस्थापन गरेका छन् । नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।

महाधिवेशनस्थलमा उम्मेदवारले आफ्नो प्रचारका लागि भिजिटिङ कार्ड, पम्पलेट वितरण गर्नुका साथै मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न विभिन्न कार्यक्रम गरिहेको देखिन्छ । नेता कार्यकर्तामा हार्दिकता साटासाटा गरेको देखिन्छ ।

 

महाधिवेशनको बन्द सत्र शनिबार भृकुटीमण्डपको हलमा हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते विहान १० बजे हुनेछ ।

उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते विहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

फोटो : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्