एपीएम टेबलटेनिस पुसको पहिलो साता



काठमाडौं ।

नेपाल एपीएम टेबलटेनिस प्रा.लि.को आयोजनामा प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एपीएमका निर्देशक दानबहादुर महताले जानकारी गराए । पुरुष/महिला सिंगल्स, यु–१६ ब्वाइज/गल्र्स सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रानको सिंगल्सतर्फ ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि स्पर्धामा खेल हुने छ । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय–२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

सबै ८ स्पर्धाका विजेतालाई सिओम टेबलटेनिस नेपालले ५ लाख रूपैयाँ बराबरको खेल सामाग्री उपलब्ध गराउने छ । प्रतियोगितामा करिब ३ सय २० खेलाडीको सहभागिता रहने बताइएको छ । तीनदिने प्रतियोगिताका खेलहरू भैंसेपाटीमा हुने छ । प्रतियोगितालाई सांग्रिला डेभलोप्मेन्ट बैंक लिमिटेडले मुख्य प्रायोजन गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । सांग्रिलाका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र एपीएमका निर्देशक दानबहादुरले सम्झौता पत्रमा हस्ताक्षर गरे । सांग्रिलाले १ लाख सहयोग गर्ने सांग्रिलाकी मार्केटिङ हेड अर्पणा बज्राचार्यले जानकारी गराइन् ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले खेलकुदसँग पहिलोपटक जोडिएको बताउँदै तत्काललाई सम्झौता प्रथम संस्करणका लागि मात्र भएको बताए । उनले आगामी संस्करणमा प्रायोजनले निरन्तर पाउने प्रतिबद्धता जनाए । सोही अवसरमा नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स एन्ड इन्भाइरोमेन्ट कमिसनका सदस्य पूर्णशंकर श्रेष्ठ र एपीएमका अधयक्ष महताबीच पनि सह–प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । श्रेष्ठले व्यक्तिगत ३ लाख प्रायोजन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्