बार्सिलोना दुई दशकपछि पहिलो चरणबाट बाहिरियो



लन्डन, (एजेन्सी) ।

क्याटलान क्लब बार्सिलोना दुई दशकपछि पहिलो पटक यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को हार र यसै समूहको अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । यसअघि, सन् २०००/०१ सिजनमा बार्सिलोना समूह चरणबाट बाहिरिएको थियो । जाभी हर्नान्डेज च्याम्पियन्स लिगबाट बाहिरिने बार्सिलोनाको खेलाडी र प्रशिक्षक दुवै बनेका छन् । २०००/०१ मा जाभी बार्सिलोनाका युवा खेलाडी थिए भने हाल उनी टोलीका मुख्य प्रशिक्षक रहेका छन् ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा घरेलु टोली बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे । बायर्नले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थपेको थियो । खेलको ३४औं मिनेटमा मुलरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले रोबर्ट लेवान्डोस्कीको पासमा हेडमार्फत गोल गरेका थिए । ४३औं मिनेटमा सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले किङ्सले कोमानको पासलाई सदुपयोग गरेका थिए । ६२औं मिनेटमा मुसिएलाले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । उनले अलफन्सो डाभिसको पासमा गोल गरेका थिए ।

यो जितसँगै बायर्नले समूह ‘ई’ मा शतप्रतिशत जित निकाल्दै समूह विजेता बन्दै प्रि–क्वार्टरफाइनलमा पुग्न सफल भयो । बायर्नले ६ खेलबाट १८ अंक जोड्यो । पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो । बार्सिलोनाले समूह चरणमा दुई जित, एक बराबरी र तीन हारको नतिजा निकाल्यो । बार्सिलोनाले बायर्नसँग दुई खेलमा समान ३–० र बेन्फिकासँग ३–० कै हार बेहोरेको थियो । डिनामो किएभलाई दुवै खेलमा समान १–० ले पराजित गर्दा बेन्फिकासँग एक खेलमा गोलरहित बराबरी खेल्यो ।

यही समूहको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकाले युक्रेनी क्लब डिनामो किएभलाई २–० ले पराजित गर्दै समूह उपविजेताको रूपमा अन्तिम १६ मा पुग्न सफल भयो । बेन्फिकाले समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा जित तथा अर्को खेलमा बार्सिलोनाले हार भोगेपछि समूह चरण पार गर्न सफल भएको हो । बेन्फिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टो जुनियरले गोल गरे । जितपछि बेन्फिकाले समूहमा ६ खेलबाट ८ अंक जोड्यो । पराजित डेनामो किएभले एक अंक जोड्यो ।

युभेन्ट्स नकआउट चरणमा
इंग्लिस क्लब चेल्सी बराबरीमा रोकिँदा इटालियन क्लब युभेन्ट्सले भने जित निकाल्यो । जितसँगै युभेन्ट्स समूह ‘एच’ को विजेता बन्दै च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । घरेलु मैदानमा युभेन्ट्सले स्वीडिस क्लब माल्मोलाई १–० ले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो । घरेलु मैदानमा युभेन्ट्सको जितमा मोइस किनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १८औं मिनेटमा फेड्रिको बर्नरडेस्चीको पासमा हेडमार्फत गोल गरेका थिए । यो जितसँगै समूह विजेता बनेको युभेन्ट्सले ६ खेलबाट १५ अंक जोड्यो । पराजित माल्मो एक अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्को खेलमा रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्दा चेल्सी समूह उपविजेता बन्यो । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीले अंक बाँडेको हो । चेल्सीका लागि टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे । जेनिटका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे । पिटर्सवर्गमा बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै वेर्नरको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले एन्ड्रिएस क्रिस्टेन्सेनको पासमा गोल गरेका थिए ।

त्यसपछि क्लाउडिनोले २८औं मिनेट र सरदारले ४१औं मिनेटमा गोल गरेपछि घरेलु टोली जेनिटले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको थियो । ६२औं मिनेटमा लुकाकुले वेर्नरको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८५औं मिनेटमा वेर्नरले व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीलाई ३–२ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मागोमेड ओज्डोइभले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । यो बराबरीसँगै चेल्सी ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा रह्यो । जेनिट ५ अंक जोडेर तेस्रोमा नै रह्यो ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भने स्वीस क्लब योङ ब्वाइजसँग बराबरीमा रोकियो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेडले योङ ब्वाइजसँग १–१ गोलको बराबरी खेलेको हो । ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलको नवौं मिनेटमा मासन ग्रिनवुडको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले लुका साको पासलाई सदुपयोग गरेका थिए । ४२औं मिनेटमा फावियनले बराबरी गोल फर्काए । यो बराबरीसँगै युनाइटेड समुह ‘एफ’ को विजेता बनेको छ । युनाइटेडले ६ खेलमा ११ अंक जोड्यो । योङ ब्वाइज ५ अंक जोडेर पुछारमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।

लिल र साल्जबर्ग नकआउटमा
त्यसैगरी, फ्रान्सेली क्लब लिल र अष्ट्रियन क्लब रेडबुल साल्जवर्ग युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह ‘जी’ बाट लिल विजेता र साल्जवर्ग उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । बुधबार राति भएको खेलमा लिलले घरेलु टोली जर्मन क्लब वल्फ्सवर्गलाई ३–१ ले पराजित गर्दै समूह विजेता बनेको हो । लिलको जितमा बुराक यिल्माज, जोनाथन डेभिड र एन्जल गोमेजले गोल गरे । घरेलु टोलीका रेनाटो स्टेफेनले एक गोल फर्काए । जितपछि लिलले ६ खेलबाट ११ अंक जोड्यो । पराजित वल्फ्सवर्ग ५ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्को खेलमा साल्जवर्गले स्पेनिस क्लब सेभियालाई १–० ले पराजित गर्दै समूह उपविजेताको रूपमा नकआउट चरणमा स्थान बनाउन सफल भयो । साल्जवर्गका नोआ ओकाफोरले दोस्रो हाफमा गोल गर्दै साल्जवर्गलाई जित दिलाए । त्यसपछि जोन जोर्डन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिया १० खेलाडीमा सीमित बन्दा खेलमा फर्कन सकेन । यो नतिजापछि साल्जवर्गले ६ खेलबाट १० अंक जोड्यो । पराजित सेभिया ६ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्