ल्हासाको विकास लोभलाग्दो


चिरञ्जीवी मास्के, काठमाडौं ।

ईश्वी संवत् सातौं शताब्दीमा तिब्बतीहरूको राज भएको ल्हासामा चीनले शासन गर्न थालेको छोटो समयमै विकासले फड्को मारेको छ । स्थानीय कम्युनिस्ट नेताहरू ल्हासाको विकासमा चिनियाँ कम्युनिस्ट पार्टीको दूरदर्शी सोच र आधुनिक विकासे मोडलको महत्वपूर्ण भूमिका रहेको सुनाउँछन् ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको छ । मुख्य नेतृत्वमा रहेका थोरै नेताले चलाएको १ अर्ब ४१ करोड जनसंख्या भएको विशाल चीनको हरेक ठाउँमा उस्तै विकास भएको पाउन सकिन्छ ।

चीनको राजधानी, औद्योगिक तथा व्यापारिक केन्द्र बेइजिङ, हुनान र गोन्जाओभन्दा फरक छैन तिब्बतको एउटा गाउँ टाँसिघाङको विकास । टाँसिघाङमा स्थानीय ६८ वर्षको एक जना महिला खान्ड्रो गाउँको विकासबाट असाध्य धेरै खुसी थिइन् । गाउँको विकासमा चिनियाँ कम्युनिस्ट पार्टी र त्यसमा संलग्न नेतृत्वको महत्वपूर्ण भूमिका रहेको खान्ड्रोको भनाइ छ ।

साँच्चै टाँसिघाङको विकास आश्चर्यलाग्दो छ । तिब्बतको राजधानी ल्हासाबाट ६ सय किलोमिटर टाढाको यो गाउँ पुग्न बसमा जम्मा ६ घण्टा मात्र लाग्छ । अनि गाउँमा सडक, बिजुली, पानी, विद्यालय, स्वास्थ्य चौकी कुनै कुराको पनि कमी छैन । ल्हासा ३ हजार ४ सय ९० मिटरको उचाइमा रहेको छ । नेपालको हिमाली जिल्ला जस्तै हो जताततै पहाड र हिमालले घेरिएको तर सडक नागबेली आकारमा सललल बगेको छ जता जाँदा पनि । किनभने अलिकति पहाड आयो कि सुरुङ मार्ग बनाइदिएको छ चीन सरकारले । त्यसैले त ६ सय किलोमिटर सडक पार गर्न जम्मा ६ घण्टा मात्र लाग्छ ।

चीनको कम्युनिस्ट पार्टीले विश्वको सबैभन्दा विशाल मुलुकमा शासन गरेको १०० वर्ष पुगेको छ । चीनमा कम्युनिस्ट शासन यताको विकासलाई हेर्दा साँच्चै ठूलो फड्को मारेको छ । नेपालमा पनि कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष पुग्यो । २०४६ सालको जनआन्दोलनपछि पटक–पटक कम्युनिस्ट पार्टीले सरकार पनि बनाएको छ तर विकासको गति उल्लेखनीय र प्रसंशनीय हुन सकेको छैन । कम्युनिस्ट पार्टीभित्रको दलगत र आन्तरिक खिचातानी तथा इगोको लडाइँका कारण मुलुकले नै ठूलो मूल्य चुकाउनु परिरहेको छ ।

ल्हासाको मुख्य आकर्षण पोताला दरबार हो । भर्खरै बुलेट रेल सञ्चालन भएपछि अर्को आकर्षण थपिएको छ । पोताला दरबारको साइनो नेपालसँग पनि जोडिएको छ । ईश्वी संवत् सातौं शताब्दिमा निर्मित पोताला दरबार त्यस बेलाका तिब्बती राजा स्रङचन गोम्पोले थांग वंशकी राजकुमारी वन् छन्सँग विवाह गर्नका लागि निर्माण गरेको इतिहास छ । पोताला दरबार ३ लाख ६० हजार वर्गमिटरमा फैलिएको छ ।

तिब्बती राजा स्रङचङ गम्पोले नेपाली राजकुमारी भृकुटीलाई पनि यही दरबारमा भित्र्याएका थिए । यो दरबारमा अहिले पनि राजा स्रङचङ गम्पो, राजकुमारी वन् छन्, नेपालकी राजकुमारी भृकुटी र स्रङचङ गम्पोका भारदार लु तुं चान्को शालिक राखिएको छ ।

ल्हासाको स्थानीय सरकारले विशिष्ट पाहुना आएको बेला पोताला दरबार र तिब्बती शासकसँग सम्बन्धित ऐतिहासिक नाटक देखाउने गरेको छ । उक्त नाटकको लागि झण्डै पाँच सय चिनियाँ सेनाले अभिनय गर्ने ल्हासाको स्थानीय सरकारले बताएको थियो । पहाडमा रहेको प्राकृतिक नाचघरमा प्रदर्शन गरिने उक्त नाटक तथ्यपरक मात्र हैन हेर्दा यथार्थ झैं लाग्दथ्यो । नाटकमा १३ सय वर्षअघि भएको तिब्बती र हान जातिबीच भएको सम्बन्धलाई देखाइएको छ ।

तिब्बतमा छोटो समयमा द्रुततर विकास भएको छ । चीनको दुर्गम मानिने तिब्बतका गाउँहरू अहिले आर्थिक, सामाजिक र राजनीतिक सबै हिसाबले सम्पन्न भएका छन् । तिब्बत जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष तथा बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासन, विकासप्रतिको लगनशीलता र सामूहिक भावनाकै कारण सिंगो चीनले हरेक कुराको विकासमा फड्को मार्दै विश्वमा सबैभन्दा अघि बढिरहेको दाबी गर्छन् ।