कृषि तथा नर्सरी व्यवस्थापन तालिम सम्पन्न

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका विभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकहरुको माग र आवश्यकताका आधारमा गाउँ–गाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन गरिएको हो ।

कृषकका खेत तथा बारीमा नै गएर प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको छ । वालिङ नगरपालिका र यूएनडीपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भइरहेको ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत वडा तहमा नर्सरी तालिम सञ्चालन गरिएको हो । तालिममा कृषकलाई तरकारी लगाउने तरिका, बेर्नाको संरक्षण र रोपणलगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।

कृषकहरुको माग र वडाको सिफारिसका आधारमा तालिम सञ्चालन भइरहेको संस्थाले जनाएको छ । तालिममा दियालो/यूएनडीपीका प्राविधिकहरु शोभाकान्त पाण्डे, राजेन्द्रप्रसाद लामिछाने लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

यसै गरी, वालिङ नगरपालिकाका आलु उत्पादन गर्ने कृषकहरुलाई खेतमा नै पुगेर तालिम प्रदान गरिएको छ । समूहगत तथा व्यक्तिगतरूपमा आलु खेती गर्दै आएका कृषकलाई आलु लगाउने, हुर्काउने, खन्ने र बीउ संरक्षण गर्ने तरिकाको बारेमा जानकारी गराइएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्ववरिष्ठ बैज्ञानिक तथा आलु विज्ञ डाक्टर भीमबहादुर खत्रीले उनीहरुलाई आलु खेतीका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

वालिङ नगरभित्रका कृषकहरुले विभिन्न सहकारी र समूह नै बनाएर आलु खेती गर्न शुरू गरेका छन् । कृषकहरुको मागका आधारमा खेतमा नै गएर कृषकहरुलाई आलु खेती सम्बन्धमा प्रयोगात्मक तालिम सञ्चालन गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।

तालिममा यूएनडीपी नेपालका सञ्चार अधिकृत कोमलप्रसाद भट्टले कृषकहरुको मागका आधारमा बिज्ञबाट सहजीकरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न ५ वटा आलु उत्पादक सहकारी संस्थाका कृषक तथा व्यावसायिकरूपमा आलु खेती गर्दै आएका कृषक गरी ५० जनाको सहभागिता रहेको थियो । नर्सरीमार्फत गाउँका कृषकलाई बिरुवा वितरण गरी उत्पादन बढाउने लक्ष्य रहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।