जिल्ला प्रशासनमा पत्र आउँछ, कर्मचारी आउँदैनन्


मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सरुवा भएर आउने कर्मचारीहरुको पत्र आउने तर हाजिर नभई सरुवा भएर जाने क्रम रोकिएको छैन । कर्मचारीहरु सरुवा भएर जाने तर आउन नचाहने प्रवृत्तिले नागरिकले सास्ती व्यहोर्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा तीन अधिकृत छन् । तीनमध्ये एक अधिकृत मात्रै कार्यरत छन् । २०७८ कात्तिक १० गते जिल्ला प्रशासन कार्यालय काभ्रेमा सरुवा भई हाजिर हुन आउने सूचीमा अधिकृत गौतम रिमाल र हुदराज निरौलाको पत्र आयो । पत्र आएको डेड महिनासम्म उहाँहरु दुवै जना हाजिर हुन आउनुभएन । उल्टै उहाँहरु दुवै जनाले जिल्ला प्रशासन कार्यालय काभ्रेमा हाजिर नै नगरी अन्यत्र सरुवा मिलाएर जानुभयो ।

यसअघि भदौ १६ गते गणेशप्रसाद पोखरेलको सरुवा पत्र प्राप्त भए पनि हाजिर नै नगरी अन्यत्र सरुवा भएको छ । अधिकृत तहमा कार्यरत खगेन्द्र सुवेदीको एक वर्षअघि उपसचिवमा बढुवा भएको थियो भने शेखर आचार्य सञ्चार मन्त्रालयमा सरुवा भएका थिए । तीन जना अधिकृतले गर्ने काम एक्लो अधिकृतले गर्न असम्भव भएपछि प्रशासन कारागार कार्यालय काभ्रेका प्रमुख गायत्री अधिकारीलाई प्रतिलिपि नागरिकताको हस्ताक्षर गर्ने जिम्मेवारी तोकिएको छ । उहाँ आफ्नो कार्यालयको कार्य सम्पादन सकेर प्रशासन आउँदा झण्डै २ बजिसकेको हुन्छ ।

सेवाग्राहीले समयमै सेवा प्राप्त गर्न नसकेको गुनासो दैनिक प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सुनाउने गरेका छन् । जनशक्ति अभावका कारण नागरिकहरुलाई छिटो सेवा दिने कुरामा अलमल भएको प्रजिअ पोखरेल बताउनुहुन्छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सरुवा भएका नायव सुब्बाद्वय माधव डाँगी असोज १७ र छत्रमणि ओझाको भदौ १५ गते पत्र आए पनि हाजिरी हुन सकेन । हाजिर नै नभई दुवै जनाको अन्यत्र सरुवा भएको छ । सरुवा भइसकेका नासु बलबहादुर लामाको रमाना भने प्रशासनले रोकेको छ । सरुवा भएर जाने कर्मचारीहरु तत्काल जाने तर आउन नचाहने प्रवृत्तिमा नागरिकहरुले सास्ती व्यहोरिरहेका छन् ।

प्रशासनबाट दैनिक १ सय २० भन्दा धेरै नयाँ नागरिकता, १ सय २० भन्दा धेरै प्रतिलिपि नागरिकता वितरण भइरहेको छ भने १ सय भन्दा धेरै राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने कार्य भइरहेको छ । एकैदिन फोटो खिचाउने कार्य असम्भव भएपछि प्रशासनले भोलिपल्टका लागि अघिल्लो दिन नै दिएको टोकन प्रयोग गर्न थालेको छ । टोकन प्रणाली शुरु भएलगत्तै नागरिकलाई सहज भए पनि एउटा कार्यका लागि दुई दिन धाउनुपरेपछि असहज र खर्चिलो भएको गुनासो आउन थालेको छ ।

प्रशासनमा दुई स्थानमा मात्रै फोटोसहितको राष्ट्रिय परिचयपत्रका लागि कार्य भइरहेको छ । जनशक्ति नहुँदा अर्को स्थानमा व्यवस्थापन गर्न कठिनाइ भएको प्रशासन कार्यालयले जानकारी दिएको छ । इलाका प्रशासन कार्यालय देवीटारमा अधिकृत नभएकै कारण एक महिना नागरिकता वितरण बन्द भयो । लामो समय कामुका भरमा इलाका प्रशासन सञ्चालन भइरहेको छ । प्रशासन कार्यालयमा दैनिक सयौंको संख्यामा राहदानी बनाउन आउनेहरुको भीड केही कम भए पनि ई–राहदानीका लागि सोधखोज गर्न आउनेहरुको संख्या त्यतिक्कै छ ।

‘राजधानीसँग जोडिएको सुगम जिल्लामा कर्मचारीहरु सरुवा हुँदा पनि जान मानिरहेका छैनन् भने अन्यत्र के होला ? म तत्कालै बुझेर व्यवस्थापन गर्नेछु ।’ –गृह मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले भन्नुभयो । राहदानीका लागि मन्त्रालयको अपरिपक्व निर्णय र व्यवस्थापनले नागरिकले थप कष्ट र हैरानी व्यहोर्नुपरेको छ । राहदानी, राष्ट्रिय परिचयपत्र र जनशक्ति व्यवस्थापनका लागि तत्कालै पहल गर्ने उहाँ बताउनुहुन्छ ।