संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा


एजेन्सी ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बस्नु भएको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ । कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उहाँ सेल्फ–आइसोलेसनमा रहनु भएको उहाँका उपप्रवक्ता फरहान हकले बताउनुभएको छ ।

उहाँमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएतापनि धेरै सावधानी अपनाउन उहाँले आफ्ना सबै संलग्नता रद्द गर्नु भएको छ । बिहीबार डिसेम्बर ९ मा उहाँको पुनः कोरोना परीक्षण नभएसम्म उहाँले घरबाट काम गर्नुहुने हकले मंगलबार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा बताउनुभएको छ ।

महासचिवको मूलतः बुधबार संयुक्त राष्ट्रसंघीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो । आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीबारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो ।

बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उहाँको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ । ७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरू मध्ये हुनुहुन्थ्यो । उहाँले गत नोभेम्बर २६ मा एक बूस्टर डोज लिनु भएको छ ।