भक्तपुरको बालकोटमा युवकको हत्या


पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरको बालकोटमा एक युवकको हत्या भएको छ ।सुर्यविनायक नगरपालिका–३ बालकोट बस्ने राजु भन्ने ३३ वर्षिय राजन श्रेष्ठको शब सुर्यविनायक–२, बसीटोलस्थित  हनुमन्ते खोला किनारको खेतमा फेला परेको हो ।

निर्माणाधीन हनुमन्ते कोरिडोर किनाराको टहरा नजिक श्रेष्ठको टाउको क्षतविक्षत हुने गरी धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कुनै रड जस्तो बस्तुले हिर्काएको जस्तो देखिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीले बताउनुभयो । मृतकको निजी सवारी मध्यपुर थिमि–३ गठ्ठाघरमा फेला परेको प्रनाउ रेग्मीले जानकारी दिनुभयो ।

मृतकको शब मध्यपुर अस्पतालमा लगिएको छ । घटनामा संलग्न भएको आशंकामा केहीलाई सोधपुछको दायरामा लिइएको प्रहरी स्रोतले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वृत्तका प्रमुख प्रनाउ रेग्मीका अनुसार हनुमन्ते कोरिडोर किनाराको टहरानजिक होहल्ला भएको र स्थानीय तथा प्रहरी घटनास्थल पुग्दा श्रेष्ठ गंभीर घाइते अवस्थामा थिए ।प्रहरीले मध्यपुर अस्पताल नयाँथिमी पुर्याउँदा मृत घोषणा गरेको जनाएको छ ।

गए राति गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते फलामे पुल काटे लगत्तै कुटपिट गरी श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक  रेग्मीले जानकारी दिनुभयो ।घटना विवरणअनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति उद्धार गरी मध्यपुर अस्पताल लगिएको थियो ।

प्रनाउ रेग्मीसहितको अनुसन्धान टोली राति नै घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको बताइएको छ ।प्रहरीले रातभरि कुटपिट गर्ने व्यक्तिको खोजी गरिरहेको छ । छिट्टै अपराधीको पहिचान हुने प्रहरीले दाबी गरेको छ ।