नेपालमा बढ्दो परनिर्भरता  ६३ करोड निर्यात, ३० अर्बको सामान आयात


कुमार श्रेष्ठ, बाँके । 

नेपालमा ‘परनिर्भरता’ बढ्दै गएको छ । नेपालीले आफ्नो उत्पादन बेच्ने भन्दा ४७ गुणा बढी भारतबाट सामान ल्याउने गरेको पाइएको छ ।

नेपालगन्ज भन्सारको तथ्यांकलाई हेर्दा नेपालबाट एक रुपियाँको सामान भारत जान्छ भने उताबाट ४७ रुपियाँको सामान भित्रिरहेको छ । नेपालगन्ज भन्सारको चार महिनाको तथ्यांकले देखाएको रिपोर्ट हो यो ।जनशक्ति बिदेसिनु, उद्योग करकाखाना प्रशस्त नहुनु, उत्पादनमा जोड नदिनुजस्ता कारणले नेपालमा दिन प्रतिदिन परनिर्भरता बढिरहेको छ । आफ्नो करेसाबारी बाँझो राखेर भारतबाट तरकारी ल्याएर खाने प्रवृत्तिले परनिर्भरता बढाइरहेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले साउनदेखि कात्तिमसम्ममा नेपालबाट ६३ करोडको सामान निर्यात हुँदा भारतबाट ३० अर्बको सामान आयात भएको जानकारी दिनुभयो ।नेपालगन्ज नाकाबाट तेल, जडीबुटी र कत्था भारत जाने गर्दछ । भारतबाट नेपालमा हरियो तरकारीदेखि कोइलासम्म भित्रिन्छ ।नेपालगन्ज भन्सार कार्यालयका अनुसार यो चार महिनामा ५ अर्ब १४ करोडको इन्धन आयात भएको छ । इन्धनबाट २ अर्ब ७७ करोड राजस्व असुली भएको छ । ४ अर्ब ६१ करोडको चामल, दाल, गहुँ, मकै, चिनी भित्रिएको छ । यसबाट १ अर्ब २८ करोड राजस्व जम्मा भएको छ । यो अवधिमा औद्योगिक कच्चा पदार्थ मात्रै १७ अर्बको भित्रिएको छ । हरियो तरकारी ६० करोड बराबरको भित्रिएको छ ।

यो भन्दा बढी भन्सार नतिरेर नेपालगन्जसम्म तरकारी आउने गर्दछ । भारतमा सस्तो पाइने भन्दै तरकारीदेखि मसला, खुर्सानीसम्म सीमावर्ती भारतीय बजारमा जाने नेपालीको संख्या बढ्दो नै रहेको छ । खुर्सानीको दुईवटा बोट करेसाबारी वा गमलामै रोपेमा सानो परिवारलाई खान पुग्छ भन्ने कुरा नेपालीको दिमागमा बसिसकेको छैन । आफ्नो करेसाबारी बाँझो राखेर तरकारी किन्न भारत जाने ‘फेसन’ नै बनेको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चार महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । पश्चिमको चलनचल्तीको यो नाकामा चार महिनामा ७ अर्ब ८४ करोड राजस्व संकलन भएको छ । नेपालगन्ज भन्सारलाई चार महिनामा ७ अर्ब ६३ करोड रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । नेपालगन्ज भन्सारले १ सय ६ प्रतिशत राजस्व संकलन गरेको छ ।