ईश्वरराज ढकाल, काठमाडौं ।
नेपालमा ओमिक्रोन भाइरस देखिएपछि बल्ल सरकारले सीमानाकामा कडाई गर्दै अनिवार्य खोप व्यवस्थापन र यात्रुको खोपकार्ड जाँच्न शुरू गरेको छ । जबकि सरकारले गत असोज ५ गते नै कार्ययोजना जारी गरी सीमामा यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण र खोप व्यवस्थापन गर्ने बताएको थियो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले खुला सिमानाका कारण कोरोना संक्रमण बढ्न सक्ने आंकलन गर्दै गृह मन्त्रालयले मातहतका सबै सुरक्षा निकायलाई सिमानामा कडाई गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
उहाँले गत असोज ५ गते जारी गरेको कार्ययोजना लागू गर्न पनि निर्देशन दिइएको बताउनुभयो ।
सरकारले कडाइ गरेको भनेता पनि अझसम्म कुनै विशेष निर्णय गरेको भने गरिसकेको छैन । मन्त्रालयले ओमिक्रोन भाइरस संक्रमण फैलिनबाट रोक्न सबै उपाय अवलम्बन गरेको दाबी गर्नुभएका प्रवक्ता कोइराला भन्नुहुन्छ– ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषद्ले थप निर्णय गरेपछि मन्त्रालयले प्रतिकार्य योजना बनाएर अघि बढ्ने तयारी गरेको छ ।’
भारत र नेपाल बीच १ हजार ८ सय ८० किलोमिटर खुला सिमाना छ । भारतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या २१ पुगेको छ । कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा समेत सो भाइरस फैलिएपछि विश्वभर चिन्ता बढेको छ ।
आइतबार एक विदेशी र एक नेपाली नागरिकमा ओमिक्रोन देखिएपछि नेपाल पनि ओेमिक्रोन भाइरस संक्रमित मुलुकको खतराको सूचीमा परेको छ ।
सीसीएमसीको अघिल्लो बैठकले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट भेटिएको ९ अफ्रिकी मुलुकसँगको यात्रा रोक्न सिफारिस गरेको थियो । नोभेम्बर ९ मा अफ्रिकामा संकलन गरिएको नमुनाको जेनेटिकमा ओमिक्रोन भाइरस फेला परेको थियो । मंगलबारसम्मको तथ्याङ्कअनुसार हालसम्म करिब ४० मुलुकमा मुलुकमा ओमिक्रोन फैलिएको छ । ती मुलकुमा यात्रा प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयमा सरकारले तत्काल निर्णय गर्न सकेको छैन ।
सरकारले ओमिक्रोन भाइरस संक्रमतिको संख्या बढ्दै गए नयाँ रणनीति अपनाउने तयारी गरिरहेको बताएको छ । फेरि लकडाउन हुने त्रास बढिरहेका बेलामा गृह मन्त्रालयले सो भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रमितको संख्या बढ्दै गएको देखिएमा मात्रै लकडाउन हुन सक्ने जनाएको छ ।
भारत प्रवेशमा रोक
कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाइ गरेको छ । भारतले आफ्नो देश प्रवेश गर्ने नागरिकलाई कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको कार्ड अनिवार्य गरेको छ ।
बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । ‘भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै डोज खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ’, उहाँले भन्नुभयो– ‘कोरोनाको दुवै डोज खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ ।’
भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै डोज लगाएको प्रमाण बोकेर जान जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ । खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्नमा रोक लगाइएको छ ।
यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा ७ दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले बताउनुभयो ।
झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि ७ दिनसम्म त्यसको लक्षण देखा पर्न सक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो ।भारतमा ओमिक्रोनको संक्रमण फैलिएसँगै बैतडीमा पनि त्यसको जोखिम बढेको छ । सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ ।











प्रतिक्रिया