‘कृषिमा यान्त्रीकरण र आधुनिकीकरण पहिलो प्राथमिकता’ : पूर्व मन्त्री लामा

समाचारपत्रकर्मी तिमल्सिना सम्मानित


मोतीराम तिमल्सिना, काभ्रे ।

गौरी शंकर साना किसान कृषि सहकारी संस्था लिमिटेड धुलिखेल नगरपालिका वडा नम्बर १२ शखुमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको छ । सहकारी स्थापना, एकीकरण तथा सञ्चालक र कर्मचारीको जिम्मेवारीमा रहेर सेवा पु¥याउनु भएका तथा सञ्चारमाध्यमको माध्यमबाट सहकारी गतिविधिमा उल्लेख्य योगदान पु-याएकोमा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरेको छ ।

संस्थाको एकीकरण पछिको प्रथम तथा संस्थाको दशौँ वार्षिक साधारण सभामा उक्त सम्मान गरिएको हो । नेपाल समाचारपत्रकर्मी मोतीराम तिमल्सिनालाई बागमती प्रदेशका पूर्व मन्त्री एवं सांसद चन्द्र लामा र संस्थाका अध्यक्ष सिताराम भट्टराईले सम्मान पत्र, दोसल्ला सहित सम्मान गर्नु भएको थियो । २०७७ असोज २४ गते गौरी शंकर र साना किसान कृषि सहकारी बीच एकीकरणका लागि कार्यदल गठन भई २०७७ कार्त्तिक ८ गते नयाँ सञ्चालक समिति गठन गरेको थियो ।

२०७७ माघ १० गते विशेष साधारण सभाले एकीकरणको प्रस्ताव पास गरे सँगै बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धुलिखेल नगरपालिका वडा नम्बर १० र १२, पनौती नगरपालिका वडा नम्बर ९ र १०, नमोबुद्ध नगरपालिका वडा नम्बर ११ कार्यक्षेत्र रहने गरी २०७७ चैत्र २२ गते मान्यता प्रदान गरेको अध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो ।

आर्थिक वर्षको अन्त्यसम्मका संस्थाको शेयर पुँजी ६९ लाख ७४ हजार ६ सय रहेको छ भने ८ करोड २७ लाख ९५ हजार ५ सय ८० रुपैयाँ बचत र विभिन्न कोषहरूमा ६८ लाख २० हजार १ सय ४२ रुपैयाँ समेत गरी ९ करोड ६५ लाख ९० हजार ३ सय २२ रुपैयाँ बचत रहेको छ । सोही सभामा बोल्दै पूर्व मन्त्री चन्द्र लामाले कृषिमा यान्त्रीकरण र आधुनिकिरणमा जोड दिएको बताउनु भयो ।

‘शंखु धार्मिक, कृषिका लागि ब्यवसायीक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणको कार्य भइरहेको छ’–पूर्व मन्त्री चन्द्र लामाले बताउनु भयो–‘विद्यालय, वृद्धाश्रम, खानेपानी, सडक, पुल लगायत कृषिमा थप नयाँ कार्यक्रमका लागि बजेट विनियोजन भइरहेको छ ।’ सुन्तलाको पकेट क्षेत्र भूकम्प पछि क्षति पुगेकाले त्यसको संरक्षण तथा प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारको तर्फबाट भएको पहल र आगामी दिनमा सहकारीको भवन निर्माणमा गरिने योगदानमा क्रियाशीलता रहने पूर्व मन्त्री लामाले बताउनु भयो ।

सहकारीले घर घरमा समृद्धि ल्याउन सफल भएकाले सहकारीका कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै उत्पादन भएका कृषि उपजको बजारीकरणमा सहजीकरण गर्ने लामाले बताउनु भयो । लाकुरी भन्ज्याङ्ग दाहालटार कटुञ्जेबेशी सडक निर्माण तथा शंखुमा अन्य पूर्वाधारमा प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गरिरहेको उहाँले बताउनु भयो ।

सहकारीले सहकारीका सदस्यहरुका लागि सिचाई मर्मत, कृषि यान्त्रीकरणका लागि अनुदान, पिठो पिस्ने मेशिन, ट्रयाक्टर, पम्प तथा कुटानी पिसानीका मेशिनहरु उपलब्ध गराउँदै आएको छ । सहकारीका सदस्यहरूले लिएको ऋणको त्रिपक्षीय बिमा, सोलार ड्रायर, पशुपालन र कृषि कर्जाका लागि ब्याज अनुदानका लागि सम्झौता, कृषकहरूलाई तालिम, सहकारी व्यवस्थापन तालिम उपलब्ध गराएको अध्यक्ष सिताराम भट्टराईले बताउनु भयो ।

चालु वर्षमा तरकारी सङ्कलन केन्द्र स्थापना, पशुपालन तथा तरकारी खेती तालिम, वित्तीय साक्षरता तालिम, पशुविमा कार्यक्रमलाई दिगो, सुलभ र सरल बनाउने, कृषि यान्त्रीकरण सबै सदस्यहरूको घर घरमा पु-याउन पहल गर्ने, अन्तर समुह गोष्ठी संचालन, अवलोकन भ्रमण, सिचाई कार्यक्रम सचालन गर्ने अध्यक्ष भट्टराईले बताउनु भयो ।

कार्यक्रममा पशुपालनका लागि १ करोड ५० लाख, कृषिका लागि १ करोड, ब्यवसायीक कृषिका लागि १ करोड ५० लाख र लघु कर्जाका लागि १ करोड गरी ५ करोड रकम साना किसान सँग माग गरी सदस्यहरूलाई वितरण गर्ने उहाँले बताउनु भयो । संस्थामा १ हजार ५ सय ६० सदस्य छन् । संस्थाले ६ करोड ७६ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ ।

सभामा उपाध्यक्ष सुवर्ण श्रेष्ठ, राधाकृष्ण फैजु लेखा समिति संयोजक, चन्द्रमान तामाङ लामा ऋण समिति संयोजक, प्रकाशकुमार श्रेष्ठ प्रवन्धकले सहकारीका गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा वडा अध्यक्ष हर्कबहादुर तामाङ, नमोबुद्ध माविका संस्थापक सत्यनारायण श्रेष्ठ, पूर्व अध्यक्ष रुद्रहरी सापकोटा, शिव आचार्य, पूर्व सञ्चालकहरू, विभिन्न संस्थाका प्रतिनिधिहरू, लेखा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।