स्थानीय सरकारको नमुना बन्दै बनेपा


लक्ष्मीनरसिं बादे प्रमुख, बनेपा नगरपालिका

काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक शहर बनेपालाई २०३८ साल चैत १४ गते तत्कालीन श्री ५ को सरकारले बनेपा नगर पञ्चायत बनायो । २०३९ साल वैशाख २ गतेदेखि नगरपालिकाका रूपमा कार्य प्रारम्भ गरेको बनेपाको आफ्नै खालको इतिहास छ । बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउँ–ठाउँमा ननि (चोक), पानीको व्यवस्था मिलाउन ढुंगेधारा र इनार, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको व्यवस्थित बनेपा थियो । नौवटा ढुंगेधारा, नौवटा ननी (चोक), नौवटा डबली र ९९ वटा इनारह थिए । ९ अंक पारेर निर्माण गरिएको बनेपा नगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दथे । शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरै जसो इनारहरू पुरिइसकेका छन । ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन् । धेरै ठाउँका ननी (चोक) अतिक्रमणमा परिसकेका छन् ।

हामी जनप्रतिनिधिहरु निर्वाचित भएलगत्तै पुरानो बनेपाको ऐतिहासिकता, धार्मिकता, सांस्कृतिक पक्षहरुलाई समेत जगेर्ना गर्ने स्मार्ट सिटीका रूपमा काम शुरू गरेका छौं । बनेपा नगरपालिकाभित्र रहेका ढुंगेधारा, डबली, मन्दिर, पोखरीहरुको स्तरोन्नत गर्ने कार्य जारी रहेको छ । विस्तारित बनेपालाई त्यहीरूपमा विकास गर्ने गरीे बजेट, नीति तथा कार्यक्रमहरू त्यही कार्यक्रमतर्फ केन्द्रित भएका छन् । पछिल्लो अवस्थामा नगरपालिका १४ वटा वडामा विभाजन भएको छ । क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको यो सबैभन्दा सानो नगरपालिका हो भने जनसंख्याको आधारमा काभ्रे जिल्लाको यो सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिका हो । नगरपालिकामा घरधुरी संख्या १२ हजार १ सय ६ रहेको छ । हरेक वर्ष झण्डै ५ सयभन्दा धेरै घरधुरी बढिरहेको तथ्यांक छ । नगरपालिकामा २७ हजार ३ सय ५ पुरुष र २८ हजार ३ सय २३ महिलासमेत गरी ५५ हजार ६ सय २८ जनसंख्या रहेको छ ।

महत्वपूर्ण कार्य

–नगरपालिकाका १४ वटै वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न ।

–२६ वटा ऐन र कार्याविधि निर्माण गरी कार्यान्वयन शुरु गरिएको छ ।

–काभ्रे एकीकृत खानेपानी बनेपा नगरपालिकाको धनेश्वर ट्याङ्कीमा र मगरगाउँमुनि रहेको फिल्टर ट्याङ्कीमा परीक्षणकाल भई सकेको छ ।

–बनेपा नगरपालिकाभित्र रहेका पुण्यमती नदी करिडोर निमार्ण कार्य धमाधम भैईरहेको छ ।

–अरनिको राजमार्ग दायाँ–बायाँ सौन्दर्यीकरणका लागि मापदण्डभित्रका घर–पसल हटाई सौदन्र्यीकरणको कार्य गरेको, हिलो र धूलोमुक्त गर्न दायाँ–बायाँ कालोपत्रे गर्ने कार्य अघि बढेको छ ।

–बनेपा नगरपालिका–१२ मा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि १४ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा खरिद गरिसकिएको छ । उक्त स्थानमा प्रविधिमैत्री तरिकाबाट फोहोरमैलाको व्यवस्थापन गर्न र उक्त स्थान सम्म पुग्नका लागि सडकलाई स्तोरन्नोति गर्ने कार्य जारी रहेको छ ।

–चालू वर्षमै बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरबाट गोसाइँस्थानसम्म १ हजार ६ सय सिँढी निर्माण सम्पन्न हुनेछ ।

–बनेपा नगरभित्र रहेका सम्पूर्ण प्राविधिक शिक्षालयको अवस्था सुधार गरी निःशुल्क प्राविधिक शिक्षा, बनेपामा स्थापित पोलिटेक्निकल इन्स्टिच्युटलाई प्राविधिक महाविद्यालयमा रूपान्तरण गर्दै उक्त स्थानमा एमबीबीएस, नर्सिङ, जेटिएजस्ता प्राविधिक विषयहरुको अध्यापनमा जोड दिई सर्वसाधारणको पहुँच विस्तार गरिएको छ । बनेपा नगरपालिका–१४ मा प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य भइरहेको छ । अधिकांश सामुदायिक विद्यालयहरुको पुनर्निर्माण भइसकेको छ ।

–नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको भौतिक एवं शैक्षिक गुणस्तरमा वृद्धि गर्न विद्यालयको पुनःसंरचनामा जोड दिई कम्प्युटर शिक्षा, प्रयोगात्मक, वैज्ञानिक शिक्षासहित सबै विद्यालयहरुमा अंग्रेजी माध्यमको सिकाइलाई प्राथमिकता दिई बनेपा नगरपालिकाभित्रको धर्म, संस्कृतिक र सम्पदा जोगाउनका लागि कक्षा ८ मा पाठ्यक्रम लागू गरिएको छ । सामुदायिक विद्यालयमा कक्षा ७ देखि माथिका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड, कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था गरिएको र सबै तहका शैक्षिक संस्थामा शैक्षिक प्रदर्शनीस्थल खेल मैदान, बाल उद्यान, कृषिसम्बन्धी प्रयोगात्मक अभ्यासलगायतका पूर्वाधार निर्माण शुरू गरिएको छ । माध्यमिक विद्यालयमा आईसीटी र विज्ञान विषयको ल्याव व्यवस्था गरिएको छ । बालमैत्री धारा, छात्रछात्रालाई अलग्गै शौचालयको व्यवस्था, विद्यालयको सहयोगी कार्यकर्ता र कार्यकाल सहयोगीलाई नेपाल सरकारले तोकिएबमोजिम तलबभत्ता सेवा सुविधा दिएको छ ।

– बनेपालाई स्मार्ट सिटी निर्माण अभियानअनुसार बनेपाको पुरानो धारा, पोखरी निर्माणलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

–निःशुल्क मोतियाविन्दुको शल्यक्रियाको व्यवस्था गरिएको छ । बनेपा नगरपालिका–४ नालामा १५ शैय्याको अस्पताल निर्माण गरी सञ्चालन गरिनेछ ।

–नगरभित्र रहेका ऐतिहासिक मन्दिरहरु चण्डेश्वरी, धनेश्वरी, नासिका, विकटेश्वर, नाला भगवती, करुणामय, महेन्द्रज्योति, कालीदेवी, चामुण्डादेवी, बुडोलको गोसाइँकुण्ड, सपनेश्वर, श्वेत बराह, मनकामना, उग्रेश्वर, जलेश्वर महादेव, आशापुरी, वाल्मीकेश्वर महादेव, ढकाल गणेश, विकटेश्वर मन्दिरलगायत चैत्य, गुम्बा, मन्दिर, मस्जिद, चर्चलगायतका धार्मिकस्थलहरुको भौतिक सुधार गरी धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गरिएको र कति प्रक्रियामा रहेका छन् । मठ–मन्दिरलगायतका धार्मिक संस्थाहरुको जग्गा–जमिन, सम्पत्तिको खोजबिन गरी संरक्षण गरिएको छ ।

–साँगा–आशापुरी–देउरालीडाँडा–नागीडाँडा–बुडोल गोसाईंथान–टन्चोक –काशीभञ्ज्याङ–काफलटापु–वासुकी–लाँकुरीभञ्ज्याङ–नगरकोट–हादेवपोखरी–कलामसी–मनकामना–वासुकी–भैंसेपाटीसम्मको टे«किङ रुट निर्माण गरी संघ, प्रदेश र स्थानीय सरकार मिली कार्य प्रारम्भ भएको छ ।

–बनेपा नगरपालिकालाई ग्रिन सिटीका रूपमा विकास गर्ने काम प्रारम्भ भएको छ ।

अन्तमा
पार्टीले जिम्मेवारी दिएमा पुनः बनेपा नगरपालिकाको प्रमुख बन्ने मेरो योजना छ । पार्टीको निर्णय र जनताको विश्वासलाई मैले शिरोधार्य गर्नेछु । राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको सिमाना बनेपा नगरपालिकामा शुरू भएका थुप्रै योजनालाई पूरा गर्न पुनः मेरो उम्मेदवारी आवश्यक देख्छु । थुप्रै चुनौतीका बाबजुत मेरो नेतृत्वमा हासिल गरेका महत्वपूर्ण योजनाले बनेपाबासीको हित भएको विश्वास लिएको छु ।

प्रस्तुति ः मोतीराम तिमल्सिना