महाधिवेशनका नाममा चुनावको तयारी: प्रचण्ड


बुटवल, (नेस) ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पार्टीले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताउनुभएको छ ।अध्यक्ष दाहालले अन्य पार्टीहरू चुनावमा जुटेकाले आफ्नो पार्टी पनि चुनावको तयारीमा जुट्न लागेको बताउनुभएको छ । बुटवलमा मंगलबार आयोजित पार्टीका नेता रामप्रसाद बन्जाडे टंकमणिको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि त्यसको तयारी गरिरहेको बताउनुभयो ।

प्रचण्डले तीनै तहको चुनावका लागि अहिलेदेखि नै सक्रियतापूर्वक लाग्न नेताकार्यकर्तालाई निर्देशन पनि दिनुभयो । ‘मुलुक चुनावतिर गइसकेको संकेत दलका महाधिवेशनका गतिविधि गरिरहेका छन्’, उहाँले भन्नुभयोे– ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरुरी छ ।’ उहाँले समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको जिकिर गर्नुभयो ।

‘संविधानको समावेशी र समानुपातिक मूल्यमान्यतालाई आत्मसात् गर्दै जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो छ’ –उहाँको कथन रहेको छ ।
प्रचण्डले पार्टीका दिवंगत नेता टंकमणि असमान्य व्यक्तित्व भएको भन्दै जनयुद्धको समयमा गुनासो रहे पनि शान्तिप्रक्रिया पछि उहाँप्रतिको आरोप आफैं खण्डन भएको दाबी गर्नुभयो ।