नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउन सफल


सूर्य लामा वडा अध्यक्ष–३ ठोरी गाउँपालिका

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्र जहिले पनि विवादित बन्दै आएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै विरोधहरू हुने गरेका छन् । सीमा क्षेत्रमा हुने तनावले बेला–बेलामा उग्र रूप लिने गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग उठिरहेका बेला पर्साको ठोरी गाउँपालिका–३ मा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा स्थानीय सरकारको पहलमा ५ किलो मिटर लामो काँडेतार लगाइएको छ ।

ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले आफ्नो वडा जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाएर जनताको मन जित्ने कोशिस गर्नुभएको छ ।
ठोरी गाउँपालिका–३ का वडाध्यक्ष लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५-१ देखि ४३१-४ सम्मको करिब पाँच किलोमिटरको दूरीमा काँडेतार लगाउनुभएको हो ।

वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन शुरू गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब पाँच किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको उहाँ बताउनुहुन्छ ।
कोरोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ ।यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकामा भारतीय पक्षको अवरोधपछि तीन सय मिटर तार लगाउने काम रोकिएको छ ।

सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति भएको छ । ‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दोरहेछ ।
त्यो पनि सहमतिबाट छिट्टै शुरू हुन्छ ।’ वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको बताउनुभयो ।२०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उहांले बताउनुभयो ।

निर्वाचित भएर आउँदा जनतासँग गरेको वाचा आफूले पूरा गरेको र जनताका लागि अझै काम गर्ने योजनामा रहेको बताउनुभएको छ । भारतसँग सीमा जोडिएको आफ्नो वडामा अब बाँसको तारबार लगाउने योजनामा रहेको पनि वडाध्यक्ष लामाले बताउनुभयो ।आफ्नो वडामा खानेपानीको समस्या थियो त्यो समस्या पूरा गरेको र शिक्षा स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य काम गरेको पनि उहाँले बताउनुभयो । भारतले नेपाली भूमिबाट २ वटा कुलो बनाएर भारततर्फ लगेकोमा अहिले एउटा कुलो पुरिदिएको र अर्को कुलो पनि पुर्ने तयारीमा रहेको जानकारी गराउँदै जनताको पक्षमा काम गर्दा जनताको साथ पाउँदै आएको पनि उहँंले बताउनुभयो ।

जनताको स्वस्थ्य र शिक्षाका लागि वडाभित्र कक्षा एक देखि ३ सम्म निःशुल्क रूपमा कोचिङ कक्षा सञ्चालन गरेको, आयुर्वेदिक केन्द्र स्थापनादेखि सर्पदंश केन्द्र स्थापनादेखि भौतिक विकाससँगै मानवीय विकासका लागि काम गरेको दाबी लामाले गर्नुभएको छ । जनताको मतलाई आफूले न्याय नै गरेको बताउँदै लामाले भारतसँग सीमा जोडिएको यो क्षेत्रमा भारतीय पक्षले दिने दुःखलाई हटाउने प्रयासमा रहेको बताउनुभयो ।

प्रदेश नम्वर २ मात्र होइन, देशकै नमुना वडा बनाउने तयारीमा आफू रहेको पनि लामाले बताउनुभयो । विकासमा पछाडि परेको यो ठाउँलाई विकासको मूल धारमा ल्याउन आफूले गरेको प्रयासले मूर्त रूप लिन लागेको पनि उहाँले बताउनुभयो ।अहिले जनतामा उत्साह छाएको छ । जनताको इच्छा भनेको गाउको विकास थियो । त्यो पूरा गर्ने तयारीमा रहेको पनि लामाले बताउनुभयो ।