राजनीतिक गतिविधिले आम नागरिकलाई पछिल्लो समय जसरी निराश बनाएको छ, यसअघि सायदै यस हदको निराशा महसुस गरिएको थियो । देश र जनताका लागि राजनीति गर्ने प्रवृत्ति गायव भएको छ । राजनीति व्यक्तिगत स्वार्थमा सीमित भएको छ । मुलुकका प्रमुख राजनीतिक दलहरू महाधिवेशनमा लागिरहँदा व्यक्तिगत स्वार्थले शिखर छोएको प्रष्ट देखिएको छ । पैसा खर्च गरेर पद लिने र पद लिएर पैसा कमाउने चक्र चलिरहेको छ । महाधिवेशनमा उपस्थित हुन पुगेका व्यक्तिहरू प्रष्ट भन्छन्– ‘भोलि राजनीतिक नियुक्ति पाउन पनि सक्रियता त देखाउनैप-यो ।’
केही समयअघि मात्र सत्ता छाडेको मुलुककै ठूलो पार्टी नेकपा (एमाले) को चितवनमा भइरहेको महाधिवेशनले नेतृत्व छनोट कार्य टुंग्याउँदैछ । सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी (केन्द्र) को जिल्ला अधिवेशन धमाधम भइरहेका छन् । पहिलो निर्वाचनपछि प्रायः लगभग सबै दलहरू यति हदसम्म विचारविहीन भइरहेका छन् कि वैचारिक आधारमा मिलन वा विछोड हुने दिन सकिएका छन्, व्यक्तिगत स्वार्थले मात्र सबै परिचालित छन् । सिद्धान्ततः राजनीतिक दलहरू राज्य सञ्चालन गर्ने उद्देश्यले गठित नागरिक संस्था हुन् । समाजमा देखिएको भावना, आकांक्षा र एजेन्डालाई टेकेर नै राजनीतिक दलले सत्तामार्फत परिर्वतन ल्याउने कार्य गर्दछ । तर, व्यवहारमा भने दलहरू सत्ता केन्द्रित, पैसा केन्द्रित हुने गरेका छन् । अहिले दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर छ । आन्तरिक पारदर्शिता भनेको कुन चराको नाम भन्ने भइसकेको छ ।
भ्रष्टाचार, राज्यसत्ताको दोहनजस्ता कुराहरूमा प्रश्न नै नउठ्ने हुन थालेको छ । एमालेको महाधिवेशन यसको ज्वलन्त उदाहरण बनेको छ । एउटा व्यक्तिमा सबै अधिकार र निर्णय केन्द्रित भएको छ । विधिमार्फत नेतृत्व छानिनु लोकतान्त्रिक पद्धतिको एउटा प्रक्रिया नै हो । प्रतिस्पर्धा चाहिन्छ भन्नेहरूमाथि नै निर्मम प्रहार गर्नु पार्टीको आन्तरिक लोकतन्त्रको शिरमा घन बजार्नुजस्तै हो, जुन यसपालीको एमालेको महाधिवेशनमा देखियो । संसदीय दल र पार्टी मोर्चामा निर्वाचनबाटै स्थापित भएका केपी ओलीले पार्टी मोर्चामा आफ्नो एकछत्र हुँदाहुँदै प्रतिस्पर्धा गर्न नदिनु आफैंमा अलोकतान्त्रिक त हो नै समूहभित्रको संकट मोचन गर्न नसकेर चालेको कदम पनि हो । अर्कातिर, कांग्रेस पनि आजको मितिमा शेरबहादुर देउवाको तजबिजमा चल्ने पार्टीमा रूपान्तरण भइरहेको छ । त्यहाँ पनि विधि र पद्धति त्यागिएको छ । पुरानो पार्टी भएर पनि सदस्यतामै लामो विवाद भएर महाधिवेशन नै प्रभावित छ । कांग्रेसभित्र आफू अनुकूलको मतदाता छनोट गरेर आफू नेतृत्वमा पुग्ने अराजकता जबर्जस्त छ ।
दलको महाधिवेशनमा आन्तरिक लोकतन्त्र हुनु भनेको त पार्टीको र सम्पूर्ण राजनीतिको समीक्षा गर्दै आफ्नो पार्टी कहाँ उभिएको छ, त्यहाँ किन आयो भनेर हेर्नुपर्ने हो । महाधिवेशन सकेर फर्किंरहँदा कार्यकर्ता पार्टीको उद्देश्यसँग परिचित हुन्थे र उनीहरूमा नयाँ रक्तसञ्चार हुन्थ्यो । अब त्यो रहेन । आफ्नो प्रशंसा र अरूलाई गाली गर्ने काममा मात्र नेता सीमित भए । यसले गर्दा आम नागरिक वृत्तमा निराशा चुलिएको छ । दलहरूले समयमै आफूलाई नसच्याए मुलुककै लागि गम्भीर संकट आए पनि जनता नउठ्न सक्छन् । यो गम्भीरतम प्रश्न हो ।
प्रतिक्रिया