माओवादीको स्थानीय तह अधिवेशन २ सयभन्दा बढी स्थानीय तहको परिणाम आउन बाँकी

मंसिर २० सम्म परिणाम आउने


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थानीय तहमा शुरू भएको अधिवेशनको परिणाम आउने क्रम शुरू भएको छ । शनिबार एकसाथ शुरु भएको स्थानीय तहको अधिवेशनअन्तर्गत ५ सय ५० स्थानीय तहको अधिवेशनको दुई सयभन्दा बढी स्थानीय तहको परिणाम आउन बाँकी रहेको छ ।

अधिवेशनबाट अधिकांश स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताउनुभएको छ । अधिकांश स्थानीय तहको अधिवेशन भइरहेकाले सहमतिबाटै नेतृत्व चयन गर्नका लागि अझै केही दिन लाग्ने बताउनुभयो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सर्वसम्मतरूपमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार धेरैजसो पालिकामा सोही विधिबाटै नेतृत्व चयन भएका छन् भने केही स्थानीय तहमा भने निर्वाचनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ ।

माओवादीले ७ सय ५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिकास्तरीय सम्मेलन अगाडि बढाएको छ । माओवादीले यही मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । त्यसै गरी, माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ । माओवादीले यसअघि मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको बताएको छ ।

निर्वाचन प्रमुख श्रेष्ठले स्थानीय तहको अधिवेशनको परिणाम आउन अझै केही दिन लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘केही स्थानीय तहमा अझै अधिवेशन नै शुरु हुन सकिरहेको छैन, केही स्थानीय तहमा उद्घाटनसत्र सम्पन्न भएर नेतृत्व चयनमा सहमति निर्माणमा जुटेका छन्, मंसिर २० गतेसम्म सबै स्थानीय तहको अधिवेशन सम्पन्न हुन्छ ।’ माओवादीका नेताहरू सबै स्थानीय तहको अधिवेशनमा खटिएका छन् । अधिवेशनबाट यसअघि नेतृत्वमा रहेका नेताहरू नै स्थानीय तहमा दोहोरिएका छन् । माओवादीले पार्टी सदस्य संख्या ८ लाख २ हजार पुगेको बताएको छ ।