एमाले लेखा आयोगमा डा. कँडेल


काठमाडौं, (नेस)

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसँगै प्राडा पुष्पराज कँडेलले एउटै पदमा लगातार तेस्रोपटकको रेकर्ड कायम गर्नुभएको छ ।

कँडेल यसअघि ८औं र ९औं राष्ट्रिय महाधिवेशबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाँचौं महाधिवेशन (२०४७) मा केन्द्रीय लेखा आयोगको सदस्यबाट राष्ट्रिय राजनीतिमा पाइला चालेका कँडेल त्यसयता निरन्तर लेखा आयोगमै विभिन्न पदमा निर्वाचित भएर काम गर्दै आउनुभएको छ ।

उहाँ छैटौं महाधिवेशनमा लेखा सदस्य, सातौं महाधिवेशनमा लेखा सचिव हुनुहुन्थ्यो । एउटै कमिटीमा ३१ वर्ष निरन्तर काम गरेका कँडेल विधानमा उमेरहद कायमै रहे आगामी ११औं महाधिवेशनबाट लेखा आयोगबाटै अवकाश पाउनुहुनेछ ।