आपराधिक क्रियाकलाप रोक्न सहमत

नेपाल-भारत समन्वय समिति बैठक


विनोदसिंह विष्ट, बैतडी । 

नेपाल–भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल र भारतका स्थानीय प्रशासनहरु सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा छलफल भएको थियो ।

छलफलपछि दुवै देशका जिल्लाका अधिकारीहरु सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा सहमत भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव बेचविखन रोकथाम, सीमानाकाबाट हुन सक्ने लागूऔषधको कारोबार, झुलाघाट झोलुंगे पुल मर्मत, भारतसँग जोडिएका घाटहरु व्यवस्थित गर्नेलगायतका विषयमा छलफल भएको हो ।

यस्तै, दुई देशका नागरिक एक अर्को देशमा आवत–जावत गर्दा परिचय खुल्ने कागज भए मात्रै प्रवेश गर्न दिने, सीमा क्षेत्रमा हुन सक्ने विभिन्न समस्या समाधानका लागि पहल हुने जनाइएको छ । यसका साथै पूर्वभारतीय सेनामा कार्यरत व्यक्तिहरुलाई बैंकबाट प्राप्त हुने निवृत्तिभरण लिने प्रक्रिया सहज गर्ने, आगामी दिनमा हुने स्थानीय निर्वाचनको समयमा सीमानाका बन्द गर्नेलगायतका विषयमा छलफल भएको हो ।

उक्त बैठक पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा. आशिष चौहानको पहलमा सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट बैतडी र दार्चुला प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र भन्सार कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह, महाकाली भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । यस्तै, दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।