प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता १७ गते


काठमाडौं, (नेस) । 

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सच्चाएको छ । आगामी मंसिर १६ र १७ गते प्रदेश अधिवेशनका लागि मंसिर १५ गते उम्मेदवारी दर्ता गर्ने सर्कुलर जारी गरिएकोमा उम्मेदवारी दर्ताको मिति मंसिर १७ गते सारिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले प्रदेश अधिवेशनका लागि उम्मेदवारी दर्ताको मिति सरेपछि अधिवेशन भने पूर्वनिर्धारित मितिमै हुने बताउनुभयो । प्रदेश अधिवेशनको मिति परिवर्तन भएको भन्ने सूचना गलत भएको भन्दै पोखरेलले प्रदेश अधिवेशन मंसिर १६ र १७ गते नै हुने र प्रदेश अधिवेशनको उद्घाटन मंसिर १६ गते नै हुने बताउनुभयो ।

कांग्रेसले प्रदेश नम्बर १ को अधिवेशन विराटनगरमा गर्न लागेको छ भने प्रदेश नम्बर २ को अधिवेशन जनकपुरमा गर्न लागेको छ । वागमती प्रदेशको अधिवेशन हेटौंडामा हुनेछ भने गण्डकी प्रदेशको अधिवेशन पोखरामा हुनेछ । त्यस्तै, लुम्बिनी प्रदेशको अधिवेशन बुटवलमा, कर्णालीको अधिवेशन सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा गरिने निर्वाचन समितिले जनाएको छ ।

आगामी मंसिर २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशन गर्न लागेको कांग्रेसले तल्लो तहको अधिवेशनअन्तर्गत केही जिल्लाबाहेक जिल्लासम्मको अधिवेशन सकाएको छ । अधिवेशन सकिन बाँकी जिल्लामा पनि प्रक्रिया अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ ।