रुपन्देहीका तिलोत्तमामा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप

खोप लगाउन टोलमा माइकिङ


यमलाल भुसाल, बुटवल  । 

हरेक कुरामा एक कदम अगाडी भएर चर्चा कमाउँदै गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १८ वर्ष माथिका सबै नागरिकलाई सोमबार र मंगलबार कोरोना विरुद्धको खोप लगाउने भएको छ । यसअघि कोरोना विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

खोपको सहज व्यवस्थापनको लागि नगरपालिकाका १७ वटा वडामै खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको परिपत्रअनुसार सोमबार र मंगलबार कोरोना विरुद्धको भेरोसेल खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाको जनाएको छ ।  तिलोत्तमा नगरपालिकामा १८ वर्षमाथि कोरोना विरुद्धको पहिलो खोप नलगाएका झन्डै २७ हजार नगरवासी रहेका छन । नगरमा झन्डै ४८ हजार जनाले यसअघि नैं कोरोना विरुद्धको खोप लगाइसकेको स्वास्थ्य शाखाको तथ्यांक छ ।  यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका नगरबासीले पनि तोकिएको समयसीमा पूरा भएको अवस्थामा सोमबार र मंगलबार खोप लगाउन सक्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

हरेक वडा कार्यालय र स्वास्थ्य संस्थाहरूले आफ्नो कार्यक्षेत्रमा रहेका नागरिक खोपबाट नछुटुन् भनेर आ-आफ्नो तरिकाले सूचना प्रकाशन, माइकिङ, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका मार्फत प्रचारप्रसार गरेका छन् । नगर प्रमुख वासुदेव घिमिरेले कोरोना विरुद्धको खोपबाट १८ वर्षमाथिका कुनै पनि नगरवासी नछुटुन् भनेर सूचना प्रवाह टोलस्तरमा पुर्याइएको बताउँदै आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन सबै नगरबासीलाई आग्रह गर्नुभयो ।