जो भ्रष्टाचारको आरोप खेप्ने उसैको कार्यकाल थप्ने !

एसओएस बालग्रामको  साधारण सभा एक व्यक्तिको मुठीमा


काठमाडौं ।

पछिल्लो समय भ्रष्टाचार गलत आचरणको चौतर्फी विरोध खेपिरहेका एसओएस नेपालका सञ्चालक समिति सचिव तथा कार्यकारी निर्देशक ईश्वरीप्रसाद शर्माले आफ्नो अनुकूल हुने गरी बोलाएको साधारण सभालाई संस्थाका आधाभन्दा बढी साधारण सभा पदाधिकारीहरूले बहिष्कार गरेका छन् । मंसिर १२ गते भएको साधारण सभामा ५० प्रतिशतभन्दा कम साधारण सभा पदाधिकारीहरू मात्र भेला भएका थिए । मातहतका कर्मचारीहरूको तीव्र विरोध खेपिरहेका शर्मा आफै पनि साधारण सभामा भौतिक रुपमा उपस्थित हुन सकेका थिएनन् । उनले भर्चुअल रुपमा साधारण सभालाई सम्बोधन गरेका थिए ।

आफ्नै कर्मचारीहरूलाई दुब्र्यहार गरेको आरोप खेपिरहेका र गलत आचरणका कारण चर्चामा रहेकै बेला आफ्नो पद लम्याउने हेतुले सञ्चालक समितिको कार्यविधि ४ वर्षका लागि थप गरिएको बुझिएको छ । मंसिर ५ मा भएको एसओएस बालग्राम नेपालको राष्ट्रिय व्यवस्थापन समितिको बैठकमा विभागीय प्रमुखहरूले शर्माको राजीनामाको माग राखेका थिए । बैठकमा विभागीय प्रमुखहरूले शर्माको अकर्मण्यताका कारण संस्थामा आश्रित हजारौँ बालबालिकाको भविष्य जोखिममा परेको भन्दै बैठकमा उपस्थित अधिकांश बालग्राम निर्देशक तथा विभागीय प्रमुखहरूले शर्माको राजीनामा मागेको बैठकको अडियो रेर्कडले पुष्टि गर्दछ । शर्मा उक्त बैठकपश्चात् कार्यालयमा स्वास्थ्यको कारण देखाउँदै अनुपस्थित रहेको बुझिएको छ ।

साधारण सभा संस्थाको नीति नियम तर्जुमा गर्न र त्यसको कार्यान्वयन गर्न संस्थाको सर्वोच्च निकाय मानिन्छ र सञ्चालक समितिको समय थप गर्नका लागि ५० प्रतिशतभन्दा बढी सदस्य उपस्थित हुनुपर्ने नियम भएता पनि समितिका सचिवले विभिन्न प्रलोभन देखाई आफ्नो मातहतका सदस्यहरुको ४ वर्ष कार्यकाल थपी नियम विपरीत कार्य गरेका छन् । एसओएसको सञ्चालक समितिमा समाजमा महत्त्वपूर्ण योगदान गरेका व्यक्तिहरू रहने गर्छन् ।वार्षिक साधारण सभामाउपस्थित साधारण सभा सदस्यहरूले संस्थाका कार्यकारी प्रमुख शर्माको पछिल्लो गतिविधिका बारेमा गम्भीर चिन्ता व्यक्त गरेका थिए ।संस्थाको काम कारबाहीमा र आफ्ना मातहतका कर्मचारीहरूको व्यवस्थापनमा अत्यन्तै कमजोर रहेता पनि शर्मा २०१७मा कार्यकारी निर्देशकमा बढुवा भएका थिए । सन् २०१५ देखि संस्थाको सहायक कार्यकारी निर्देशक रहेका शर्मा २०७२को भूकम्पताका आपत्कालीन उद्धार समितिको निर्देशक रहेका थिए ।

उद्धार समितिको निर्देशक रहेका बेला असहाय र गरिबहरूलाई पुनर्निमाणको लागि विदेशी दाताहरूबाट आएको ठुलो रकम हिनामिना गरेको आरोप शर्मामाथि छ । शर्माको नेतृत्वमा भएको उद्धार कार्यमा अनियमितता भएको समाचार विभिन्न सञ्चार माध्यमहरूमा बाहिरिए पछि संस्थाको अन्तर्राष्ट्रिय कार्यालयले शर्मालाई छानबिनको दायरामा राखेको छ । एसओएस नेपालको सञ्चालक समितिका केही पदाधिकारीहरूलाई “अज्ञात” कारणले आफ्नो पक्षमा पार्न सफल रहेका शर्मा २ वर्षको लागि कार्यकारी निर्देशकमा नियुक्त भएका भएता पनि सन् २०१९मा सञ्चालक समितिको सिफारिसमा उनी पुनः दुई बर्षको लागि आफ्नो समय लम्ब्याउन सफल भएका थिए ।

एसओएस बालग्रामको विधान नेपालको श्रम कानुनसँग बाझिएको छ । नेपालको श्रम ऐनले  कर्मचारीहरूको अबकासको लागि ५८ वर्षको उमेरहद तोकेको छ तर एस ओएसको नियमावलीमा कर्मचारीको उमेरहद नेपालको श्रम ऐनसँग बाझिने गरी ६० बर्ष तोकिएको छ ।बालग्रामका कार्यकारी निर्देशकले आफ्नो अनुकूल बनाउने उद्देश्यले विगत २० वर्षदेखि संस्थाको विधान तथा नियमाबली संशोधन गरिएको छैन । शर्मा ६२ वर्षका भई सकेका छन् ।