राजेन्द्र महतोको विवादास्पद सम्बोधन

नेपालमा बहुलराज्यको माग


धादिङ, (नेस)  । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपालमा बहुल राज्य आवश्यक रहेकाले आफूहरू बहुलराज्यको पक्षमा रहेको बताउनुभएको छ ।महतो मन्त्री हुँदा बहुल राज्यको माग गरेका कारण चर्काे आलोचना भएको थियो । महतो पुनः धादिङ आएर सोही विवादित भाषण गर्दै बहुलराज्यको माग गर्नुभएको छ ।

शनिबार धादिङबेंसीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धादिङको संगठन विस्तार तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै महतोले नेपाल बहुलताले भरिएको देश भएको भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको बताउनुभएको हो । कार्यक्रममा महतोले अधिकार र पहिचानका लागि अन्तिम लडाइँ लड्नुपर्ने बेला आएको बताउनुभएको छ ।

अहिलेका शासकहरू अधिकार दिनेभन्दा पनि भएको अधिकार खोस्ने प्रक्रियामा लागेको भन्दै महतोले भन्नुभयो – ‘अधिकार माग्दा रेशम चौधरीलगायत थारु नेता जेलमा बस्नुपर्ने तर १७ हजार मान्छे मार्ने आन्दोलनका नेतृत्वकर्ताहरू यो देशको प्रधानमन्त्री हुने, यो कस्तो न्याय हो ?’ देशका प्रमुख पार्टी कांग्रेस, एमाले र माओवादीले पछाडि परेका समुदायको अधिकार नसमेटिएको संविधान बनाएको भन्दै अधिकारको लागि लड्दा गोली ठोक्ने गरेको वरिष्ठ नेता महतोको भनाइ छ ।

यसै गरी संगठन विस्तार तथा बृहत पार्टी प्रवेश कार्यक्रममा लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्वमन्त्री तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मण लाल कर्णले शुभकामना मन्तव्य व्यक्त गर्दै गाउँ–गाउँमा संगठन विस्तार गर्न आग्रह गर्नुभएको छ । उहाँले अन्यायविरुद्ध एकजुट हुन आग्रह गर्दै आफ्नो पहिचान सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।