१ लाख ९४ हजार अमेरिकी डलरसहित एक पक्राउ


 पोखरा । 

पोखरा महानगरपालिका ३३ बाट स्रोत नखुलेको ठूलो मात्रामा अमेरीकी डलर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेका छिरिङ डुन्डु शेर्पालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पोखरा ९ शिवालय चोक बस्दै आएका शेर्पाको साथबाट प्रहरीले १ लाख ९४ हजार २ सय अमेरिकी डलर अर्थात् २ करोड ३२ लाख ६ हजार ९ सय नेपाली रुपियाँ बरामद गरेको हो । मुस्ताङ लो–घेकर दामोदर कुण्ड घर भई पोखरा बस्दै आएका शेर्पाले लामो समयदेखि गैरकानुनी तरिकाले विदेशी मुद्राको ठूलो कारोबार गर्दै आइरहेको भेटिएको छ ।

शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले रकम के प्रायोजनका लागि ल्याइएको भन्ने विषयमा थप अनुसन्धान भइराखेको जानकारी दिनुभयो । अवैध रूपमा विदेशी मुद्रा ल्याइएको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दै शेर्पालाई पक्राउ गरेको बताउनुभयो । ‘हामीले घटनालाई असर पर्छ भनेर गोप्य रूपमा अनुसन्धान गरिरहेका थियौँ । अहिले पनि कतिपय कुरा गोप्य नै राखिएको छ’ उहाँले भन्नुभयो, ‘अनुसन्धान प्रभावित हुन्छ भनेर सबै कुरा अहिले नै भन्न सकिरहेका छैनौं ।’ उहाँले कास्की प्रहरीकै इतिहासमा पहिलोपटक यति ठूलो विदेशी रकमसहित पक्राउ गरेको बताउनुभयो ।

काठमाडौंका एक व्यक्तिले रकम दिएको र सो रकम पोखरा ल्याइएको उहाँले सुनाउनुभयो । बराबद सबै रकम सक्कली नै रहेको छ । नगदसहित उनको साथबाट १ थान चेक बुक र २ थान मोबाइलसमेत बरामद गरिएको छ । रकम सक्कल वा नक्कल भन्ने विषयमा भने नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर पक्राउ स्थल परीक्षण गरिएको थियो । प्रमुख थापाका अनुसार घटना सांगठनिक रहेको छ । एक व्यक्तिले मात्रै ठूलो रकमको कारोबार गर्न नसक्ने उनको ठम्याइ रहेको छ ।‘यो सांगठनिक अपराध हो । एक व्यक्तिको मात्रै सहभागिता छैन । काठमाडाै‍बाट कसैले पठाएको र उनले पोखरा ल्याएको देखिन्छ’ थापाले भन्नुभयो, ‘केही व्यक्तिको संलग्न भएको भन्ने खबर पाएका छौँ । हामी अनुसन्धानमा छौं कारबाहीको दायरामा ल्याउँछौँ ।’ विदेशी मुद्रा ल्याई सुन किन्ने र कारोबारी गर्ने गरेको विगतका घटनाले देखाएको बताउनुभयो । थापाका अनुसार शेर्पा यसअघि पनि यसरी नै विदेशी मुद्रामा सुन कारोबारी गर्दै आइरहेका थिए ।

शेर्पाले पोखराबाट काठमाडौं हवाईजहाजमा जाने र आउँदा सार्वजानिक बसको प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । ‘विमानस्थलमा कडा चेकजाँच हुने भएको हुँदा जाँदा प्लेन र आउँदा बसको प्रयोग गरेको देखियो ।’ बरामद भएको अमेरिकी डलरमा ७२ थान ५० डलर र १९०६ थान सय डलरको नोट रहेका छन् । व्यक्तिले १ हजार अमेरिकी डलरसम्म मात्रै लिन पाउँछन् । त्योभन्दा बढी अमेरिकी डलर लिएर आएमा वा हिँडेमा नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्दछ ।