कांग्रेसको तल्लो तहको अधिवेशन अन्तिम चरणमा


काठमाडौं  । 

१४औं महाधिवेशन गर्ने तयारीमा रहेको प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको तल्लो तह अर्थात् जिल्ला तहसम्मको अधिवेशन अन्तिम चरणमा पुगेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार शनिवार साँझसम्म ७७ जिल्लामध्ये ५० जिल्लाको अधिवेशन सम्पन्न भई नतिजा आइसकेको छ । १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ सय २२ क्षेत्रको पनि नतिजा आइसकेको छ । त्यसै गरी ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २ सय ४४ क्षेत्रको नतिजा आइसकेको छ । सर्लाही र रसुवा जिल्लामा भने अधिवेशन प्रक्रिया शुरु हुन बाँकी छ ।

वडा तह हुँदै जिल्ला तहसम्मको अधिवेशन अन्तिम चरणमा पुगेसँगै केन्द्रीय निर्वाचन समिति ७ वटा प्रदेशको प्रदेश अधिवेशन गर्न जुटेको छ । आगामी मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्न लागेको कांग्रेसले प्रदेश अधिवेशनका लागि आयोजक समिति गठन गरिसकेको छ । प्रदेश नम्बर १ को अधिवेशन विराटनगरमा गर्न लागिएको छ भने अधिवेशन आयोजक समितिको संयोजक केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालाई बनाइएको छ । प्रदेश नम्बर २ को अधिवेशन जनकपुरमा गर्न लागिएको छ र अधिवेशनको आयोजक समिति संयोजक रमेश रिजाललाई तोकिएको छ ।

त्यसै गरी, हेटौडामा गर्न लागिएको वागमती प्रदेश अधिवेशनको आयोजक समितिको संयोजकको जिम्मेवारी प्रकाशमान सिंहलाई दिइएको छ । पोखरामा हुने गण्डकी प्रदेश अधिवेशनको संयोजकको जिम्मेवारी गोपालमान श्रेष्ठलाई दिइएको छ भने बुटवलमा हुने लुम्बीनी प्रदेश अधिवेशनमा संयोजकको जिम्मेवारी बालकृष्ण खाँणलाई दिइएको छ । कर्णली प्रदेशको अधिवेशन सुर्खेतमा हँुदै छ । यो प्रदेशमा अधिवेशन आयोजक समितिको जिम्मेवारी जीवनबहादुर शाहीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा गर्ने निर्णय भएको छ भने अधिवेशन आयोजक समितिको जिम्मेवारी दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ ।

प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रदेश र महाधिवेशन प्रतिनिधिहरूको नामावली संकलन भएसँगै पुनः नेतृत्व लिने रणनीतिमा लागेका शीर्ष नेताहरू आ–आफ्नो सम्पर्क कार्यालय खोली प्यानल मिलाउने रणनीतिमा लागेका छन् ।कांग्रेसभित्र मुख्य गरी तीन गुट सक्रिय छन् । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवाको एउटा गुट छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्को गुट छ । १३औं महाधिवेशनबाट तेस्रो गुट निर्माण गरेका नेता कृष्णप्रसाद सिटौलाको गुट पनि केन्द्रदेखि गाउँ तहसम्म पैmलिएको छ । आसन्न १४औं महाधिवेशनमा नेतृत्व दाबी गरिरहेका उपसभापति विमलेन्द्र निधिले पनि केन्द्रदेखि गाउँ तहसम्म आफ्नो गुट निर्माण गरिरहेको बताइन्छ । कांग्रेसभित्र शीर्ष नेताहरूको थप उपगुट पनि रहेको छ ।

यसैबीच पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित १४औं महाधिवेशन प्रचार–प्रसार समितिले शनिबार पूर्णता पाएको छ । समितिका संयोजक शर्माका अनुसार समितिमा केन्द्रीय सदस्यमा जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेकप्रताप शाह र जनकराज कलौनीलाई मनोनित गरिएको छ भने दिलीप राईलाई प्रचार–प्रसार समितिको सदस्य मनोनित गरिएको छ । कांग्रेस सूचना तथा प्रचार विभागका सदस्य तथा भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाका अध्यक्षहरू पनि प्रचार–प्रसार समितिका सदस्य रहनेछन् । यो समितिमा नेपाल प्रेस युनियनका केन्द्रीय समितिका साथै पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू पनि सदस्य रहने संयोजक शर्माले बताउनुभएको छ ।