सबै स्थानीय तहमा माओवादीको अधिवेशन शुरू


मधुसूदन रायमाझी, काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थानीय तहको अधिवेशन शनिबार देशभर एकसाथ शुरु भएको छ । केही स्थानीय तहबाहेक अधिकांशमा एकसाथ अधिवेशन शुरु भएको हो ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेकोे जानकारी दिनुभयो । उहाँका अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने केही स्थानीय तहमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । श्रेष्ठले आइतबारसम्ममा सबै पालिकाको नेतृत्व चयन भइसक्ने बताउनुभयो ।

माओवादीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेकोमा धेरैजसो पालिकामा सोही विधिबाटै नेतृत्व चयन भएका छन् भने केहीमा निर्वाचन पनि भएका छन् । पार्टीलाई सांगठनिकरूपमा स्पष्ट बनाउने र विधिमा सञ्चालन गर्ने उद्देश्यका साथ माओेवादीले यसपटक केन्द्रीय, प्रदेश र स्थानीय तहसम्म निर्वाचन समिति नै गठन गरेर नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरेको छ ।

माओवादीले ७ सय ५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिकास्तरीय सम्मेलनको आयोजना गरेको हो । शनिबार सम्पन्न भएको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गरेको छ । माओवादीले यही मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरेको छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तय गरेको छ ।

माओवादीले यसअघि मसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको बताएको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थानुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुने गरी नेतृत्व चयन गर्नेछ । वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १ सय ५० जनाका दरले सहभागी हुनेछन् । यस्तै, नगरमा २ सय, उपमहानगरमा ३ सय र महानगरमा ४ सय प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुनेछ ।

पार्टीलाई एक नम्बर बनाउँछौ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आगामी सम्मेलनबाट पार्टीलाई नयाँ उचाइमा पु¥याउने बताउनुभएको छ । शनिबार पार्टीको ७ सय ५३ वटै स्थानीय कमिटीलाई एकसाथ भर्चुअल सम्बोधन गर्दै उहाँले २१औं शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माणका लागि आह्वान गर्दैै पार्टीलाई पुनः एक नम्बरको बनाउने परिस्थिति निर्माण भइरहेको बताउनुभएको हो ।
पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट नयाँ विचारको संश्लेषण गर्दै पहिलो पार्टी बनाउने घोषणा गर्दै प्रचण्डले भन्नुभयो– ‘आउँदो सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौं ।

इतिहासको नयाँ संश्लेषण गर्नेछौं । समाजवादी आन्दोलनले, समाजवाद निर्माणको प्रक्रियाले नयाँ जीवन र गति प्राप्त गर्नेछ ।’ उहाँले इतिहासको नयाँ संश्लेषण गर्ने गरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको जानकारी गराउँदै भन्नुभयो– ‘अरू कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौं । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोशिस मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार र व्यवहारलाई ध्यान दिनेछौं । ती तथाकथित अधिवेशन र हाम्रो विचार संश्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’

उहाँले आफ्नो पार्टी पनि अरु बुर्जुवा पार्टीजस्तै व्यक्तिगत स्वार्थमा जाने खतरा देखिएको टिप्पणी गर्दै बेलैमा कमी–कमजोरी सच्याउनेतिर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘निर्मम आत्मसमीक्षा गर्नुपर्छ । त्यही संकल्पको प्रक्रियामा विभिन्न सम्मेलनमा छौं ।’ हमालदेखि तराईसम्म भ्रमण गरेर माओवादीको अवस्था बुझेको र पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै उहाँले केही महिनाभित्र माओवादी एक नम्बर पार्टी बन्ने दाबी गर्नुभयो ।समाजवादी अभियानलाई निस्तेज पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्ववहरू लागेको बताउँदै प्रचण्डले यसलाई चिर्ने चुनौतीसँगै अवसर पनि आफूहरूको अगाडि रहेको बताउनुभयो । राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन आग्रह गर्दै प्रचण्डले माओवादी केन्द्रलाई कमजोर हुने छुट नभएको बताउनुभयो ।