धावनमार्गमा ‘जेब्रा क्रसिङ’ राख्ने कि ?


कुमार श्रेष्ठ, बाँके । 

नेपालगञ्ज विमानस्थलको धावनमार्ग (रनवे) मा बुधबार राति ७ः५ बजे जहाजसँग स्याल ठोक्कियो । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको नाइनएन–एजेएक्स जहाजसँग ल्यान्ड गर्ने क्रममा स्याल आएर ठोक्किएको थियो ।

जहाजमा ७० जना यात्रु थिए । यात्रुलाई केही भएन । जहाजको अगाडिको भागमा केही क्षति पुगेको छ । स्याल भने ठहरै भयो । जहाज ल्यान्ड गर्न धावनमार्गमा दौडिरहँदा स्याल आएर ठोक्किएको थियो ।काठमाडौंबाट नेपालगञ्ज आएको जहाज यहाँबाट यात्रु राखेर फर्किनु पथ्र्यो । स्यालसँग ठोक्किएको जहाजमा क्षति पुगेकाले फर्किन सकेन । बुद्ध एयरले काठमाडौंबाट अर्को जहाज मगाएर राति १०.४७ बजे नेपालगञ्जका यात्रुलाई काठमाडौं उडायो ।नेपालगञ्ज विमानस्थलमा जहाजसँग जंगली जनावर ठोक्किएको यो पहिलो या दोस्रो घटना होइन । नेपालगञ्जमा वा नेपालगञ्जबाट सेवा दिने हरेकजसो कम्पनीका जहाजसँग नेपालगञ्ज विमानस्थलमा जंगली जनावर ठोक्किएका छन् । केही दिनअघि मात्रै नेपालगञ्जदेखि हुम्ला जान थालेको सीता एयरको जहाजसँग बँदेल ठोक्किएको थियो ।

सीता एयरको नाइनएन–एएचबी धावनमार्गबाट उठ्ने बेलामा तीन वटा बँदेलको पाठो आएर ठोक्किएका थिए । जहाजसँग ठोक्किएका तीनवटै बँदेलका पाठा मरेका थिए । चालक दलसहित १७ जना यात्रु राखेर हुम्ला जान थालेको जहाजमा बँदेल ठोक्किए पनि ठूलो दुर्घटना भएन । यो जहाजको पनि नोजल गेयर भाँचिएको थियो ।यो घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विमानस्थलको धावनमार्ग आसपासमा रहेको झाडी सफा गरेका थिए । धावनमार्ग नजिकै ठूलो जंगल नै रहेकाले अलिकति झाडी सफा गर्दै केही हुनेवाला छैन भन्ने बुधबारको घटनाले देखाएको छ ।

नेपालगञ्ज विमानस्थलको धावनमार्ग आसपासका झाडी पूर्णरूपमा सफाई नगरेसम्म यस्ता घटना भइरहने देखिएको छ । विमानस्थल कार्यालयले आफ्नो एरियामा तारबार गरे पनि घाँस–दाउरा गर्ने स्थानीयले तार काटिदिने समस्या रहेको छ । त्यो झाडीमा बँदेले र स्यालको ठूलो बसोबास रहेको छ ।जहाजमा आएर जंगली जनावर ठोक्किने गरिरहेको छ । अहिलेसम्म ठूलो मानवीय दुर्घटना भइसकेको छैन । सरकारको काम गराईलाई हेर्दा ठूलो दुर्घटना पर्खिरहेकोजस्तो देखिन्छ । होइन भने, बेलैमा धावनमार्ग आसपासको झाडी पूर्णरूपमा सरसफाई गरेर तारबार गर्नु पर्छ ।

विमानस्थल कार्यालयका अधिकारीले तारबार गर्ने पैसा नभएको बताउदै आएका छन् । अन्तर्राष्ट्रिय-क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गराउनुपर्ने आवाज आइरहेको नेपालगञ्ज विमानस्थलमा जनावरको ताण्डव नृत्य पटक–पटक देखिने गरेको छ । विमानस्थलको काम गराईलाई नियालिरहेकाहरु व्यंग्य गर्छन् कि पूर्णरूपमा झाडी सफाई गरेर तारबार गर्नुप-यो होइन भने धावनमार्गमा जेब्रा क्रसिङ राखेर जनावरलाई सुरक्षित तरिकाले धावनमार्गमा क्रस हुन दिनुपयो ।