गण्डकीले ग-यो एकैदिन तीन कार्यक्रम घोषणा


नेपाल समाचारपत्र, कास्की । 

गण्डकी प्रदेश सरकारले एकैदिन तीन सामाजिक कार्यको घोषणा गरेको छ । बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश सरकारले एकसाथ सडक आश्रित सहयोगापेक्षित मानवमुक्त प्रदेश घोषणा, लै‌ंगिक हिंसाविरुद्ध १६ दिने अभियान तथा कोभिडबाट बुबाआमा गुमाएका बालबालिकालाई राहत प्रदान शुभारम्भ गरेको हो ।

तीन कार्यक्रम एकसाथ घोषणा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देशको राजनैतिक घटनाले नयाँ सरकार गठन भएपश्चात् ठूलो परिवर्तन गर्न नसके पनि जनभावनाअनुरूपको काम गरेको बताउनुभयो । उहाँले सरकारले ठूला तथा विकास निमार्णका योजनादेखि बजेटसमेत नेकपाकै सरकारले तय गरेको र बजेट आउन एक दिन बाँकी रहँदा सरकार परिवर्तन भएकाले आफूहरुले आकर्षित काम गर्न नसकेको बताउनुभयो ।

सडक सहयोगापेक्षित मानव घोषणा कार्यक्रमले सरकार सफल हुनुमा कोसेढुंगा हुने उहाँको भनाइ छ । घोषणा भएपश्चात् घोषणामै सीमित नभई कार्यान्वयनमा ल्याउन समेत मुख्यमन्त्रीले आग्रह गर्नुभउको थियो ।शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले सडक मानवमुक्त प्रदेश घोषणा प्रस्ताव पेस गुर्नभएको थियो । उक्त प्रस्तावमा हस्ताक्षर गर्दै मुख्यमन्त्रीले स्वीकृति दिनुभएको थियो ।

घोषणासँगै सडक मानवमुक्त गर्ने दोस्रो प्रदेश बनेको छ । यसअघि कर्णाली प्रदेशले उक्त अभियानको घोषणा गरेको थियो । विभिन्न बहानामा घरबाट निकालिएका वा समाजमा घृणा गरेका र सडकमै बसेका व्यक्तिलाई मानव सेवा आश्रममा राखिने छ । हाल देशका विभिन्न १४ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा आएका छन् । उक्त आश्रमा ९ सय जना रहेका छन् ।यस्तै, ७ सय जनालाई सुधारपश्चात् पारिवारिक पुनर्मिलन गराइएको छ भने २ सय ५० जना अल्पकालीन सेवा लिएका व्यक्तिहरु रहेका छन् ।