एमालेको चितवन महाधिवेशन, प्रचण्डलाई टार्गेट



  • विनोद पौडेल

नाङ्लो ठटाएर हात्ती तर्साउन भनेझैँको संकेत एमालेको दशौं महाधिवेशनले देखाएको छ । यस अर्थमा हात्ती तर्साउने हो, एमालेले मंसिर १० गते हुने दशौं महाधिवेशन चितवनस्थित नारायणी किनारामा भव्यताका साथ मनाउने तयारी भइरहेको छ । चितवन जिल्ला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विर्वाचन जिल्ला हो ।

त्यसैले एमालेको दशौं महाधिवेशन चितवनमै गर्न खोजिएको हो भन्दा शायदै अतिशयोक्ति नहोला । यसैलाई विषय बनाएर ओली र प्रचण्डको वाकयुद्धसमेत भइरहेको छ । यसै सिलसिलामा एमालेले दशौं महाधिवेशन चितवनमा गर्दै छ । आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको प्रचण्डले सार्वजनिकरुपमा बताएका छन् ।

जवाफमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनौती दिएका छन् । प्रचण्डको निर्वाचन जिल्ला हुँदैमा चितवन नै प्रचण्डको नहुनेसमेतको अभिव्यक्ति उनले दिएका छन् । यति मात्र होइन, ओलीले प्रचण्डलाई पनि उनको पार्टीको महाधिवेशन गर्न झापा आएर गर्नुस्, अझ उनकैै निर्वाचन क्षेत्र दमकमा आएर गर्नसमेत सुझाएका छन् ।

यसबाट पनि बुझ्न गाह्रो पर्दैन कि ओलीले प्रचण्डलाई महाधिवेशनको नाममा शक्ति प्रदर्शन गर्दै घुमाउरो हिसाबले चुनौतीसमेत दिएका छन् ।
चितवनलाई माओवादीको पकड क्षेत्र पनि भन्न सकिन्छ । किनकि माओवादी शान्ति सम्झौतामा आएपछि आफ्ना लडाकूहरुलाई चितवनको शक्तिखोरमा बस्ने व्यवस्थापन गरेको थियो ।

प्रचण्डको निर्वाचित जिल्लामा दशौं महाधिवेशन गर्नु र उनलाई नै टार्गेट दिएको हो भन्दा एमाले र एमालेका समर्थकलाई फरक पर्दैन होला । चितवनको ठोरीमा रामको जन्म भएको भनी तत्कालीन ओली सरकारको पालामा श्रीरामको मूर्ति स्थापनासमेत गर्न भ्याएका ओलीले महाधिवेशन क्षेत्र चितवन बनाएको संयोग मान्ने कि प्रतिशोधमा उत्रिएको मान्ने ? हुन त अहिले मुलुक महाधिवेशनमय भएको छ, तर एमालेको दशौं महाधिवेशन चर्चा–परिचर्चा निकै चुलिएको छ ।

यो महाधिवेशनमा एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु छुट्टै नयाँ पार्टीमा छन् । एमालेको यो महाधिवेशन माधवकुमार नेपालविनाको महाधिवेशन हुनेछ । महाधिवेशन रोचक पनि छ, माओवादीका अध्यक्ष प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत महाधिवेशनको निम्तो दिइएको छ तर विगतका सहकर्मी नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधवकुमार नेपाललाई सम्झिएको छैन ।

हालसालै सम्पन्न भएको विधान महाधिवेशनपश्चात् एमालेले दशौं महाधिवेशन सम्पन्न गर्दै छ । विधान महाधिवेशनमा पनि विपक्षीको चर्को आलोचना मात्र गरेको एमालेले अब हुने महाधिवेशनमा पनि तिनै माधव, प्रचण्डको विरोध नगर्लान् भन्न सकिन्न । अझ प्रचण्डकै निर्वाचन जिल्लामा गएर प्रचण्डका कार्यकर्तालाई समेत हात लिने प्रयास नहोला भन्न सकिन्न । जबकि चितवनवासीलाई महाधिवेशनमा उपस्थित हुन आह्वानसमेत गरिरहेको छ ।

ओली–प्रचण्डको खटपट

तत्कालीन नेकपा माओवादी र नेकपा एमाले पार्टी एकता भई नेकपा (नेपाल कम्युनिस्ट पार्टी) बनेको थियो । यी दुई पार्टीको एकताले बहुमत प्राप्त हुँदा ५ वर्ष सरकार चलाउन ढुक्क थियो । केपी ओली र प्रचण्डबीच आलोपालोमा सरकार र पार्टी चलाउने सम्झौतासमेत भएको थियो । पार्टी एकतापश्चात् यी दुईको मित्रता झ्यामिदै गएको थियो । लाग्थ्यो, यिनका मित्रता र क्रियाकलापले यी बीचमा घनिष्टता प्रगाढ छ भन्नेमा ।

कुनै समय उनीहरुको त्यो मित्रता र पार्टी एकताको एक–अर्काले बखान गाउँदै हिँडे । तर अहिले सम्बन्धमा खटपट आएको छ, एक–अर्काको कुरा काट्दै समय व्यतीत गरिरहेका छन् । लामो रेसको घोडाझैँ कम्युनिस्ट–कम्युनिस्ट एक भएको घोषणा गरे । अब निरन्तर सरकार चलाउने बहुमतको ठूलो पार्टी हामीबाहेक कोही बन्न सक्दैन भन्दै अँगालो मार्दै हिँडेका दिन जनताले शायदै बिर्सिएका छैनन् ।
पार्टी एकतामा भएका सम्झौताका सर्तहरु एक–अर्काबीच पालना नहुँदा यी दुईबीच खटपट शुरु भयो ।

साढे २ वर्ष केपी ओली प्रधानमन्त्री बन्ने, अर्को साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने सम्झौतासमेत भंग भयो । प्रचण्डको केही सीप नलागेपछि प्रधानमन्त्री केपीलाई नै दिने र पार्टी अध्यक्ष आफूले पाउनुपर्ने सर्त अगाडि बढाए तर ओलीले सुनेको नसुनेझैँ गरे । त्यहीँबाट यी दुईबीचको खटपटको पहिलो बीजारोपण भयो भनी मान्न सकिन्छ ।

दुई अध्यक्षको समान अधिकार भन्दै अध्यक्षको कुर्सी भाग नलगाएको पनि होइन तर त्यो कुर्सी लामो समयसम्म पार्टी कार्यालयमा रहन सकेन । बिस्तारै यी दुईबीचको खटपटले उग्र रुप नै लियो । आखिरीमा नेकपा दुई खेमामा बाँडियो– ओली पक्ष र प्रचण्ड–माधव पक्षमा, केपी ओलीको संगठन बलियो थियो, सरकार पनि उनीसँगै थियो ।

पार्टीको विवादले उग्र रुप लिइरहेकै अवस्थामा नेकपा पार्टीको वैधानिकताबारे सर्वोच्चमा रिट परेपछि माओवादी र एमालेको बाम एकतापश्चात् बनेको नेकपा पार्टी नामबाटै बाहिरियो । नेकपा माओवादी र नेकपा एमालेको संयुक्त बाम एकतापश्चात् निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल सर्वोच्चद्वारा खारेजको निर्णय भयो ।

निर्वाचन आयोगले ओली, प्रचण्डलाई नेकपा पार्टीको वैधानिकता दिए पनि सोही नामको अर्को पार्टी पहिले नै ऋषिराम कट्टेलको नाममा दर्ता भइसकेको हुनाले त्यसैको विरुद्धमा कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए र फैसला पनि उनकै पक्षमा आएको थियो । अन्ततः नेकपा पार्टी विस्थापनसँगै दल पनि विभाजन भयो । अर्थात् माओवादी केन्द्र र नेकपा एमाले पार्टी सर्वोच्चले ब्युँताइदियो, पुनः ती दलका नेता आ–आफ्ना पुरानै जन्मघरमा फर्किए ।

पदको लालचले केही माओवादीका नेताहरुले एमाले नै रोजे, नचाहँदा नचाहँदै माधवकुमार नेपाल एमालेमै रहे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गरेको केही घण्टा नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तावको सदर गरि दिइन् ।

संसद् विघटनको विरुद्धमा सर्वोच्चमा रिट दर्तापश्चात् दुई महिनापछि सर्वोच्चले संसद् विघटनको विपक्षमा फैसला सुनायो । संसद्मा ओलीले विश्वासको मत लिन सकेनन् र पुनः दोस्रोपटक पनि संसद् विघटन गरे । अवस्था उही भयो, जुन पहिलोपटक संसद् विघटन गर्दा सर्वोच्चले विपक्षमा फैसला सुनाएझैँ दोस्रोपटक पनि उही दोहो-याइदियो । त्यति बेला त सर्वोच्चले संसद् मात्र बुत्याएन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनू भनी परमादेशसमेत जारी ग-यो ।

कारण प्रचण्ड, माधव तथा शेरबहादुरसहितका अन्य नेताहरुले हस्ताक्षरसहित सर्वोच्चमा संसद् विघटनविरुद्धको रिट दर्ता गराएका थिए । यसरी छुट्टिएका ओली र प्रचण्डको अहिले पानी बाराबारको अवस्था छ । उता माधवकुमार नेपालले छुट्टै पार्टी दर्ता गरिसकेका छन् । सरकार पनि माधव, प्रचण्ड, शेरबहादुरलगायतको गठबन्धन पार्टीको छ ।

यति बेला एमाले सरकारको विपक्षमा उभिएको छ । चतुर खेलाडी ओलीले प्रचण्ड–माधवलाई देखाउन पनि महाधिवेशनमा विशेष लगाव दिएका छन्, त्यसमाथि चितवनमै महाधिवेशन गरेर ।

महाधिवेशनको तयारी

चितवनको नारायणी किनारामा महाधिवेशनको भव्य तयारी गरिँदै छ । पाँच लाख हाराहारी जनमानस अटाउन सक्ने महाधिवेशन स्थल बनाइँदै छ । जसमा एमाले स्टेज डिजाइन, डाक्टर परिचालन, व्यापकरुपमा स्वयंसेवक परिचालन, महाधिवेशन स्थलमा ड्रोन परिचालनलगायत कार्यको तयारीमा छ, जसको चर्चा–परिचर्चा चुलिँदै गएको छ ।

यसको प्रचारप्रसारमा एमालेले कुनै कसर बाँकी राखेको छैन । यत्तिको व्यवस्थापन गर्न त निकै लागत लाग्ला, सर्वहारा जनताको पार्टीसँग यति धेरै पैसा कहाँबाट आउँछ ? पार्टी सदस्यहरूले महाधिवेशन सहयोगबापतको न्यूनतम एक सय रुपियाँ जम्मा गर्न बारकोडको प्रबन्ध त गरेको छ तर सदस्यका एक सय, हजार, अधिकतम लाखसम्मको सहयोगले महाधिवेशन खर्च उठ्न सक्छ र ?

एमालेको महाधिवेशनमा एमालेका कार्यकर्ता मात्र होइन, जो पनि आउनलाई आह्वान गरेको छ । जसका निमित्त सामाजिक सञ्जाल, राष्ट्रिय तथा स्थानीय दैनिक पत्रपत्रिका, विद्युतीय सञ्चारमाध्यमको पार्टीले प्रयोग गरेको छ । आधुकितासँगसँगै प्रचारका शैलीमा समेत परिवर्तन गरेको छ । मोबाइलका रिङटोन, रिङब्याक टोनमा समेत महाधिवेशनमा सहभागिता हुन अनुरोध गरेको छ । पुरानो शैलीको भित्ते लेखन र पोस्टरजस्ता तरिका छाडेर डिजिटल प्रचारमा जोड दिइरहेको छ ।

यस्ता प्रचारप्रसार शैलीले युवा पुस्तामाझ लोकप्रियता बढाउन खोजिएको हो भन्न गाह्रो पर्दैन । पार्टीका कार्यकर्ता मात्र सामेल नभई सम्पूर्ण नेपाली अट्न सक्ने पार्टी एमाले भएको सन्देश दिनसमेत महाधिवेशनले खोजेको छ भन्नेमा ओलीका भनाइबाट बुझ्न सकिन्छ, जुन महाधिवेशनमा हुन गइरहेको तयारीले समेत प्रस्ट पार्दछ ।

अहिलेसम्मको अवस्थामा केपी शर्मा ओलीलाई दशौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्षको पद ग्रहण गर्न गाह्रो छ । किनकि अध्यक्षको पदमा भीम रावलले समेत उम्मेदवारी दर्ता गराउने भएका छन् । त्यसमाथि ओलीले सहमतिका लागि कोही कसैलाई दबाब नदिनेसमेत बताइरहँदा उनीलाई पनि अध्यक्ष बन्नमा पक्कै पनि एक हिसाब दबाब रहन्छ होला । लाग्छ, यो महाधिवेशन निर्वाचन लक्षित पनि रहन सक्छ ।

एमाले नै पहिलो पार्टी बन्नेछ भनेर भाषण गरिरहँदा व्यवहारमा उतार्न भने कष्टकर बन्न सक्छ । यस्तो हर्कत आगामी निर्वाचन नभएसम्म हो । जब निर्वाचनको नतिजा आउँछ तब यिनका दम्भ कमजोर हुँदै जान्छन् । जनताले आगामी निर्वाचनमा सही निर्णय लिन्छन् भन्ने पक्का छ । समयसँगसँगै मतदातामा पनि चेतना अभिवृद्धि हुँदै गएको छ ।

पहिलेको समयजस्तो छैन, सूचनाको पहुँच आम नागरिकसँग पुग्दा देशको परिस्थिति एवं नेताका क्रियाकलाप हरकुराको नजर राखिरहेका हुन्छन् । उनीहरु पनि त्यही दिनको पर्खाइमा छन्, जुन दिन निर्वाचन हुन्छ त्यही दिन देखाउनेछन्, मतदाता कति शक्तिशाली हुन्छन् भन्नेमा । सधैँ उखान टुक्का र बेमौसमी गफ दिँदै समय बर्बाद गर्नु बेकार मात्र हो । आगामी महाधिवेशनले व्यक्तिगत आचरणमा सुधार गर्दै जाने व्यवस्थासमेतमा परिवर्तन गर्न सकोस् ।

[email protected]

प्रतिक्रिया दिनुहोस्