आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल


जनकपुर ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ ।धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि बढिरहेकाले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले हाम्रो पार्टी दक्षिणपन्थी भासमा भासिएको छैन्, क्रान्तिकारी सोचका साथअघि बढ्ेको छ भन्नुभयो । “पूर्वमेचीदेखि महाकालीसम्म आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ”, उहाँले भन्नुभयो, “सात प्रदेशमध्ये दुई प्रदेशमा हाम्रै पार्टी नेतृत्वको सरकार छ । प्रदेश नं २ मा पनि हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली छौं । यो कुरा सबैलाई थाहा छ ।”

अध्यक्ष नेपालले नेकपा (एमाले) भन्दा आफ्नो पार्टी शक्तिशाली रहेको दाबी गर्दै आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने विश्वास व्यक्त गर्नुभयो । यही मङ्सिर १५ गतेबाट पार्टीले स्टीकर वितरण गर्दै जनताको घर–घरमा पुग्ने अभियान चलाउन लागेको बताउँदै उहाँले पार्टीलाई शक्तिशाली बनाउने गरी जनताको घरमा पुग्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

यसैगरी अध्यक्ष नेपालले आज बिहान जनकपुरधाम उपमहानगरपालिका–१ किशोरी नगरमा नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश र धनुषा जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई माला, अबिर लगाएर पार्टी प्रवेश गराउनुभयो ।