जिल्लास्तरीय फुटबलको तयारी


हेटौंडा, (नेस) । 

जिल्ला समन्वय समिति मकवानपुर र जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा जिल्लास्तरीय अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला समन्वय समितिको बोर्ड बैठकले जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता मंसिर १८ देखि २५ गतेसम्म हुप्रचौरमा हुने भएको छ । १० वटै स्थानीय तहको सहभागिता रहने प्रतियोगिताका लागि मंसिर १५ गतेभित्र खेलकुद विकास समितिमा टिम दर्ता भइसक्नुपर्ने जनाइएको छ । टिममा सम्बन्धित पालिकाका मात्र खेलाडी सहभागी हुन पाउने निर्णय गरिएको समन्वय समिति प्रमुख रघुनाथ खुलालले जनाएका छन् ।

गत वर्ष प्रतियोगिता आयोजनाको तयारी गरिएकोमा कोभिडका कारण अन्तिम समयमा स्थगित भएको थियो । करिब ७ लाख ५८ हजार लागत अनुमान गरिएको प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले १ लाख पाउनेछन् । विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दिइयो ।