कुमार श्रेष्ठ, बाँके ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनामा कर्मचारी नै आउन नमान्ने गरेको खुलासा भएको छ । कर्मचारी अभावकै कारण आयोजनाको कामले दु्रत गति लिन सकेको छैन ।
आयोजनाका प्रमुख रामप्रसाद अर्यालका अनुसार सिक्टा सिँचाइ आयोजनामा २५ जना कर्मचारीको दरबन्दी रहेको छ । त्यसमा १० जना रिक्त रहेका छन् । ६ जना दोस्रो तह, तीन जना तेस्रो तह र एक जना सब–इन्जिनियरको दरबन्दी रिक्त रहेको छ । भएका १५ जनामा दश जना सब इन्जिनियर रहेका छन् ।सिक्टा सिँचाइ आयोजनामा कर्मचारी नमानेपछि कामकारबाहीसमेत प्रभावित भएको छ । शुरुआती चरणमा सिक्टामा कर्मचारी आउन तँछाडमछाड गर्थे । पछिल्लो तीन वर्षदेखि सिक्टा सिँचाइ आयोजनामा कर्मचारी आउन मानिरहेका छैनन् ।आयोजना स्रोतले भन्यो– ‘शुरुआती चरणमा यहाँ राम्रा–राम्रा इन्जिनियर आउन तँछाडमछाड गर्थे । पछिल्ला वर्षहरुमा आउनुस् भन्दा पनि आउन मानिरहेका छैनन् ।’
कर्मचारीसम्बद्ध स्रोतका अनुसार, सिक्टामा कर्मचारी आउन नमान्नुका दुई कारण रहेका छन् । एउटा अख्तियारले हात हाल्नु र अर्को यहाँ आउने हाकिमको बढुवाका लागि अतिरिक्त नम्बर नमिल्नु ।सिक्टाले पानी छोड्दा दुईपटक नहर फुटिसकेको छ । २०७३ सालमा शुरुआती परीक्षण गर्दा नै नहर फुटेको थियो । त्यसलाई मर्मत गरियो । फेरि पानी छोड्दा २०७५ सालमा पुनः नहर फुट्यो । घुलनशील माटोका कारण नहर फुटेको बताइए पनि अख्तियारमा मुद्दा परेको थियो । अख्तियारले २० जनाविरुद्ध मुद्दा चलाएको छ ।
२० जनामध्ये १२ जना डीई रहेका छन् । फाइल मात्रै सदर गर्नेलाई पनि मुद्दा परेपछि कर्मचारी सिक्टामा आउन डराइरहेका छन् । ‘जो दोषी छ उसलाई मात्रै मुद्दा चलाएको भए कर्मचारीहरु यसरी तर्सिदैनथे, अख्तियारले पनि सबैलाई मुद्दा चलाएको छ ।’ –आयोजना स्रोतले भन्यो ।
सिक्टामा हाकिम आउन नमान्नु अर्को कारण बढुवाका लागि अतिरिक्त नम्बर नमिल्नु रहेको छ । यो ‘हिडन’ कारण मानिन्छ । काठमाडौंमा बस्नु र नेपालगन्जमा बस्नु उस्तै हो ।‘बढुवाका लागि अतिरिक्त नम्बर पाइँदैन, नेपालगन्जलाई पनि सुगम जिल्ला मानिएको छ’, कर्मचारी स्रोतले भन्यो– ‘छिमेकी जिल्ला बर्दिया बस्दा अतिरिक्त नम्बर पाइन्छ । नेपालगन्जमा बस्दा पाइँदैन । यही भएर हाकिमहरु यहाँ आउन चाहँदैनन् ।’
बाँकेका किसानको भविष्यसँग जोडिएको सिक्टा सिँचाइ आयोजनामा कर्मचारी आउन नमान्दा काम प्रभावित भएको छ ।
आर्थिक वर्ष २०६२-६३ बाट काम शुरु भएको सिक्टाको अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ । सिक्टा नहर बन्दा जिल्लाको ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने दाबी गरिएको छ ।सिक्टामा अहिलेसम्म पुलसहितको ३ सय १२ मिटर मूल बाँध सम्पन्न भएको छ भने ४५ दशमलव २५ किलोमिटरको पश्चिम मूल नहरको काम सकिएको छ ।
पूर्वी नहरमा ४० प्रतिशत काम सम्पन्न भएको छ भने पश्चिमतर्फका शाखाहरुको करिब ४० प्रतिशत काम सम्पन्न भएका छन् । पहिलो चरणका काम सम्पन्न भएका छन् भने दोस्रो चरणका शाखा, प्रशाखामा ४० प्रतिशत काम भएका छन् ।६ वर्षमा काम सक्ने भनिएको सिक्टाको काम लम्बिएको लम्बियै छ । डुडुवा नहरमा पप्पु कन्ट्रक्सनले बदमासी गरिदिँदा पनि सिक्टाको काम पछाडि धकेलिएको छ ।डुडुवाको २४ किलोमिटरमध्ये १८ किलोमिटर पप्पुलाई ठेक्का परेको थियो । लामो समयसम्ममा पप्पुले ७ प्रतिशत मात्रै काम सकेपछि उसलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइयो । पप्पुले ३० करोडको दाबी गरेर अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा अहिले चलिरहेको छ । ठेकेदार कम्पनीले काम नगरेपछि नेपाल सरकारले उसलाई कारबाही गरेर जरिवाना तिराउनुपर्नेमा उल्टै काम गर्ने ठेकेदारले आयोजनाको काम प्रभावित हुने गरी मुद्दामामला गरिरहेको छ ।१२ अर्ब ८० करोड शुरुआती लागत राखेर काम शुरु गरिएको सिक्टामा अहिलेसम्म १७ अर्ब ७३ करोड रुपियाँ खर्च भइसकेको छ । आयोजनाको काम अझै ३० प्रतिशत बाँकी रहेको छ । आर्थिक वर्ष २०७८-७९ मा १ दशमलव ५३ अर्ब विनियोजन गरिएको छ ।
प्रतिक्रिया