एमाले दशौं महाधिवेशन: चितवन सौराहाका होटल भरिभराउ


दुर्गाप्रसाद शर्मा, चितवन । 

नेपाल कम्युनिस्ट पार्टी एमालेको आसन्न दशौं महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशनको उद्घाटनस्थल नारायणगढको नारायणी किनारदेखि बन्दसत्र हुने पर्यटकीयस्थल सौराहमा महाधिवेशन लक्षित तयारी भइरहेको छ ।नारायणी नदी किनारमा मञ्च निर्माणको काम आधा जति सकिएको छ भने नारायणी नदीपारि पार्टीका नारा र महाधिवेशनको प्रचार सामग्रीका ठूल्ठूला बोर्ड राखेर आकर्षक बनाउने काम भइरहेको छ ।

महाधिवेशनको प्रचारका लागि चितवनमा युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा विशाल मोटरसाइकल ¥यालीको आयोजना गरिएको थियो । मोटरसाइकल-यालीले बजार परिक्रममा गरेको थियो । महाधिवेशन आयोजनास्थल चितवनमा जस्तै मंगलबार देशैभर प्रचारका लागि -याली आयोजना गरिएको एमालेले जनाएको छ ।महाधिवेशन बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा हुने भएपछि यति बेला सौराहा भरिभराउ भएको हो । नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाका लागि ३ हजार ५ सय बेड आयोजकले बुक गरिसकेको क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले बताउनुभयो । आफ्ना प्रतिनिधिको व्यवस्थापनको क्रममा १ करोड ६० लाख रुपियाँभन्दा बढी कोठा खर्च मात्र एमालेले सौराहामा बुझाउँदै छ ।

महाधिवेशनको अवधि १० देखि १२ गतेसम्म हुँदै छ । तर, अहिलेदेखि नै होटलहरु भरिभराउ भएका छन् । यो अवधिमा ५ करोड रुपियाँभन्दा बढीको कारोबार हुने सौराहाका व्यवसायीको अनुमान छ । सौराहमा ६ हजारभन्दा बढी बेड क्षमता छ तर एमालेका समर्थक, कार्यकर्ता र सञ्चारकर्मीले सबै कोठा बुक गरिसकेका छन् ।बन्दसत्र सञ्चालन हुने सौराहामा २ हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण शुरु भएको छ । महाधिवेशनको बन्द सत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम शुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । महाधिवेशनका सहभागी हुने २ हजार जना प्रतिनिधि सहजरूपमा अट्ने गरी १३ हजार वर्ग फिटको डम र १ हजार २ सय वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको सुवेदीले बताउनुभयो ।

पन्ध्र सय बढी सुरक्षाकर्मी खटिँदै

नेकपा एमालेको महाधिवेशनमा १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । एमाले महाविधेशनमा उच्चस्तरको सुरक्षा आवश्यक पर्ने भएकाले प्रहरी नायव महानिरीक्षक (डीआईजी) को नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुन लागेको हो । चितवन र नवलपुरमा गरी १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको सुरक्षा प्रमुखहरुले बताएका छन् । महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८ सय, सशस्त्र प्रहरीको ४ सय ५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैंडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १ सय बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ ।

चितवनमा महाधिवेशन उद्घाटन हुने स्थान र बन्दसत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक आस्मान तामाङले बताउनुभयो । एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको भन्दै तामाङले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको जानकारी दिनुभयो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको बताउनुभयो । नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारीसाधनलाई गैंडाकोटमा रोकिने भन्दै मल्लले नदी किनार सहितका स्थानलाई पार्किङस्थलका रूपमा प्रयोग गर्ने बताउनुभयो ।