जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको हो : मन्त्री पौडेल


काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएको बताउनुभएको छ । नास्टको सहकुलपति समेत रहनुभएका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दूर दराजमा पनि प्रविधिको पहुँच पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

सोमबार निरीक्षणका लागि नास्टको कार्यालयमा पुग्नुभएका मन्त्री पौडेलले आजको युग सुहाउँदो विकाशमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालमा युवा वैज्ञानिकको उत्साह देखिएको बताउँदै उनीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नास्टलाई निर्देशन दिनुभयो ।  मन्त्री पौडेलले भन्नुभयो ‘आजको युग विज्ञान तथा प्रविधिको युगको हो,’ ‘यसलाई देशका कुनाकन्दरामा रहेका जनताको पहुँचमा लैजानुपर्छ ।’नजिकैका दुई मित्र राष्ट्र चीन र भारतले प्रविधिमा फड्को मारेको उदाहरण दिँदै उहाँले नेपालले पनि उनीहरूको सिको गर्नुपर्ने बताउनुभयो ।  मन्त्री पौडेलले अन्तर्राष्ट्रिय राष्ट्रसँग समन्वय गरी नास्टले जन पक्षीय काम गर्नुपर्नेमा जोड दिनुभयो ।

 उहाँले बजेटको अभाव, कर्मचारी व्यवस्थापन, कर्मचारीको वृद्धि विकासका समस्यामा आफू जानकार रहेको बताउँदै समस्या हल गर्ने उपायसहित मन्त्रालयमा आउन निर्देशन दिनुभयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले विज्ञान र प्रविधि विना देश समृद्धि नहुने बताउनुभयो ।

उहाँले नास्ट काठमाडौंमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा पनि लैजानुपर्नेमा जोड दिनुभयो । नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले ७ वटै प्रदेशमा नास्टको कार्यालय स्थापनाको तयारी गरिएको जानकारी दिनुभयो । उहाँले विज्ञान सिटीको अवधारणा अनुसार बजेटको व्यवस्था भए त्यसलाई कार्यान्वयनमा लैजाने बताउनुभयो । ‘नागरिकसँग नास्ट’ कार्यक्रम स्थानीय तहमा चलिरहेको बताउँदै उहाँले परम्परागत रैथाने प्रविधिदेखि नवप्रवर्द्धन प्रविधिको क्षेत्रमा नास्टले काम गरिरहेको बताउनुभयो ।