हस्तकला मेलामा ८ करोडको कारोबार


काठमाडौं, नेस । 

१८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्वारा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब आठ करोड रुपियाँको कारोबार भएको हो ।

महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यका अनुसार मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । मेलामा परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय हुनुभएको छ ।

प्रथम द्वितीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । मेलामा विभिन्न हस्तकला विधाका एकसय २० भन्दा बढी स्टल रहेका थिए ।