कानुन व्यवसायीको धर्ना कायमै


काठमाडौं, नेस  । 

 नेपाल बार एसोसिएसनले दोस्रो चरणको आन्दोलनअन्तर्गत आइतबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले कात्तिक १४ गतेदेखि प्रदर्शन गर्दै आएका छन् ।

दोस्रो चरणको कार्यक्रमअन्तर्गत आइतबार भएको प्रदर्शनमा पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको थियो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।बारको आह्वानअनुरूप आइतबार देशभरका बार इकाइले अदालतभित्र दंगा प्रहरी प्रवेश गराएको, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहितको दंगा प्रहरी तैनाथ गरेको र कानुन व्यवसायीमाथि दमन र कुटपिट गरेको भन्दै त्यसको विरोधमा बहस बहिष्कार गरेका थिए ।

सोमबार देशभरका अदालतमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने बारले निर्णय गरेको छ ।

बुधबार उच्च अदालत र उच्च अदालतका इजलासमा विरोधसभा आयोजना गर्ने, बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बारले निर्णय गरेको छ । बारले मंसिर २४, २५ र २६ गतेलाई तोकिएको राष्ट्रिय सम्मेलन पनि स्थगित गरेको छ ।