कांग्रेस महधिवेशन: सबै नेताको ध्यान अधिवेशनमा


रामकृष्ण चापागाईं, काठमाडौं । 

नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज सोमबार हुँदै छ । महाधिवेशनमा नेतृत्व छनोट गर्न आउने प्रतिनिधि यही अधिवेशनबाट निर्वाचित भएर आउने भएकाले सबै नेताको ध्यान यो अधिवेशनमा केन्द्रित छ ।

कार्यतालिकाअनुसार आज ५८ जिल्लामा क्षेत्रीय अधिवेशन हुँदै छ । साथै यी जिल्लाको एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको प्रक्रिया पनि आजै अघि बढाइँदै छ । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट हुने भएकाले आफ्नो पक्षका प्रतिनिधि निर्वाचित गर्न नेताहरूले भरपुर शक्ति प्रयोग गरिरहेका छन् ।मंसिर २४ देखि २६ सम्म हुने कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि आउनेछन् ।

१ सय ६५ प्रतिनिभिसभा क्षेत्रमध्ये यसअघि १७ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभएको छ । निर्वाचन समितिका सचिव श्रेष्ठका अनुसार एकमात्र निर्वाचन क्षेत्र भएको ३५ जिल्लामध्ये १५ जिल्लामा जिल्ला अधिवेशन पनि सम्पन्न भइसकेको छ ।तल्लो तहको अधिवेशनअन्तर्गत १ सय ४८ क्षेत्रमा क्षेत्रीय अधिवेशन र ६२ जिल्लामा जिल्ला अधिवेशन गर्न बाँकी छ । जिल्ला सभापति पनि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । जिल्ला अधिवेशन गर्ने कार्यतालिका मंसिर १० गते तोकिएको छ ।

क्रियाशील विवादका कारण अधिवेशन अनिश्चित बनेको रसुवा र सर्लाही दुई जिल्लामध्ये रसुवामा जिल्ला निर्वाचन अधिकृत पुनः खटाइसकेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार सर्लाहीमा पनि जिल्ला निर्वाचन अधिकृत खटाउने बारेमा आइतबार साँझ निर्वाचन समितिको बैठक बसेको समितिका सचिव श्रेष्ठले बताउनुभएको छ । कांग्रेसले प्रदेश अधिवेशन गर्ने मिति १६ र १७ गते तोकेको छ ।अधिवेशन सम्पन्न भएको १७ क्षेत्रबाट आएका ४ सय २५ महाधिवेशन प्रतिनिधिमा आ–आफ्नो पक्ष बढी रहेको भन्दै संस्थापन पक्ष र संस्थापनइतर पक्षका नेताहरूको दाबी रहेको छ ।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा पुनः नेतृत्व दोहो¥याउने रणनीतिमा छन् भने संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइरालाले दाबी गरिरहेका छन् । यसअघि संस्थापन पक्षमा रहेका उपसभापति विमलेन्द्र निधिले दुई महिना अघिदेखि सभापतिको उम्मेदवारी घोषणा गरी तयारी अघि बढाइरहनुभएको छ । कांग्रेसभित्र तेस्रो धारका रूपमा रहेका नेता कृष्णप्रसाद सिटौलाले पनि १४औं महाधिवेशनमा आफ्नो टिमसहित नेतृत्वको दाबी गर्ने बताउँदै आउनुभएको छ ।

सर्वसम्मत पदाधिकारी चयन गर्न देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गर्नुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आइतबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औं महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका उहाँले पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सकभर सर्वसम्मत रूपमा चयन गर्न आग्रह गर्दै त्यसो नभए स्वच्छ प्रतिस्पर्धाबाट चयन गर्न अनुरोध गर्नुभयो ।

उहाँले पार्टीभित्रैको आन्तरिक निर्वाचनमा कडा प्रतिस्पर्धाको हिसाबले नभई सकभर सर्वसम्मत नभए लोकतान्त्रिक पद्धतिअनुसार स्वच्छ निर्वाचन गरेर पदाधिकारी चयन गर्नका लागि आग्रह गर्नुुभयो । पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिस्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनुका साथै पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, विकास निर्माणलगायतका क्षेत्रमा भएको समस्या समाधान गर्नका लागि आफूू प्रतिबद्ध रहेको बताउनुुभयो । कार्यक्रममा प्रदेश नं १ का प्रमुख पर्शुराम खापुुङ्ग, पूूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादार, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, नेपाली कांग्रेस १ नम्बर प्रदेशका संसदीय दलका नेता राजीव कोइरालालगायतको सहभागिता थियो ।