दाइजो नदिएको रिसमा श्रीमतीको हत्या श्रीमान् पक्राउ


सप्तरी ।

श्रीमतीलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ ।

पक्राउ परेका आरोपित मियाँलाई आज म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । दाइजोबापत मोटरसाइकल र नगद नदिएको भन्दै आरोपितले परिवारका सदस्यसँग मिलेर २०७६ फागुन २ गते श्रीमती २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोप लागेको छ ।

घटनासँगै मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको जाहेरी दर्ता नभएपछि जहिरुद्दिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेशका लागि मुद्दा दायर गर्नुभएको थियो ।

उच्च अदालत जनकपुर राजविराज इजलाशले २०७७ मङ्सिर २९ गते परमादेशपछि जाहेरी दर्ता गरी लुकमानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पासवानले बताउनुभयो । हत्या आरोपमा लुकमानसहित लुकमानकी आमा ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन तथा २९ वर्षीया रेशमा खातुनविरुद्ध जाहेरी दिइएको छ । अन्य आरोपित पक्राउ परेका छैनन् ।

विवाहपछि दाइजो माग्दै पटकपटक धम्की दिँदै आएका लुकमानसहितकाले दाइजो नदिएको रिसमा बहिनालाई कुटपिट गर्दै विष खुवाएको मृतकका भाइ मो। फिरोजले बताउनुभयो । “बहिनीलाई दाइजो माग्दै कुटपिट गरेको कुरा बहिनीले मोबाइल फोनबाट हामीलाई सुनाएको रेकर्ड सुरक्षित छ”, फिरोजले भन्नुभयो, “हामीलाई न्याय चाहिएको छ ।” विष खुवाइएपछि गम्भीर बनेकी रोशनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो ।