एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी: अध्यक्ष नेपाल


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी रहेको आरोप लगाउनु भएको छ । मध्यपुरथिमिको बोडेमा भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको दुई दिने राष्ट्रिय भेलाको आज अन्तिम दिन कार्यक्रममा बोल्दै उहाँले त्यो पार्टीमा रहने सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको जिकिर गर्नुभयो ।

नेपालले भन्नुभयो, “एमाले ओली एण्ड कम्पनी हो, त्यो पार्टी होइन, उनले हामीलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्यास लिने कि आत्मसमर्पण गरेर उनको टाङमुनी छिरेर बस्ने भन्ने भयो, हामीले त्यसलाई अस्वीकार गर्‍यौ र बाध्य भएर नयाँ पार्टी गठन गर्‍यौँ ।”अहिले एमालेले विद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउँदै हिँडेको भन्दै उहाँले भ्रम छर्नु पर्दैन, पुष्पललाले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिँडेकाले त्यस्तो अवस्था नआउने उहाँले दाबी गर्नुभयो ।

यति होल्डिडदेखि नेपाल यरलायन्ससम्म ओली नेतृत्व सरकारले सााठगाँठ गरेर भ्रष्टाचार गरेको आरोप लगाउँदै उहाँले अहिलेको सरकार भ्रष्टाचारबाट मुक्त भएको अध्यक्ष नेपालले बताउनुभयो ।

नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको बताउँदै उहाँले केपी ओलीको कुसंस्कार एमालेमा छाडेर राम्रो संस्कार जति समाजवादीमा ल्याएको दाबी गर्नुभयो ।आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनु भयो । उहाँले आफ्ना मन्त्रीहरू भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताउनु भयो ।

सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरे कारबाही गरेर फिर्ता बोलाइने बताउनु भएको हो । शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुने गरी निजीकरण गरिएको बताउँदै उहाँले सरकारले त्यसलाई निरुत्साहित गर्दै जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वास्थ्यको क्षेत्रमा भएका गलत कामलाई सुधार्न र विगतदेखि समस्या झेल्दै आएका कर्मचारीको समस्या समाधान गर्न स्वास्थ्य मन्त्री प्रतिबद्ध भएर काममा लागेको स्वास्थ्य क्षेत्र भएको गलत कामलाई रोक्ने बताउनु भयो । आज सम्पन्न हुने भेलाले नयाँ नेतृत्व चयन गर्दै घोषणा पत्र जारी गर्ने बताइएको छ ।