नेपालगन्ज म्याराथनको उद्घाटन कोरोनालाई परास्त गर्दै खेल गतिविधि बढाउनुपर्छ: मन्त्री अथक

नेपालगन्ज खेलकुदको शहर हो: राजेश हमाल


नेपालगन्ज । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गर्नुभएको छ । शुक्रवार बेलुका गृह जिल्ला पुग्नुभएका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौँ संस्करणको उद्घाटन गर्नुभएको हो । म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झन्डा हल्लाउनुभएको थियो भने महानायक राजेश हमालले सिट्ठी फुक्नुभएको थियो ।

म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरूलाई चलायमान गराउनुपर्ने समय आएको बताउनुभयो ।
नेपालगन्ज म्याराथनले स्थानीय देखी खेल क्षेत्रका भेट्रानहरु समेतलाई सडकमा उतार्न सफल भएकोमा खुसी व्यक्त गर्दै मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रूपमा सूचीकृत गराउन पहल गर्ने बताउनुभयो ।

“राष्ट्रका लागि खेल र स्वास्थ्य कालागि खेल” भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासकालागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेको मन्त्री अथकले बताउनुभयो ।म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताउनुभयो ।

विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगे पनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी व्यक्त गर्नुभयो । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिनुभयो ।