शिक्षामन्त्री पौडेल नेतृत्वको टोलीले गर्‍यो बोर्ड  र केन्द्रको अवलोकन 

नतिजा आउने गरी काम गर्न निर्देशन


पुष्कर बुढाथोकी, भक्तपुर ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया सहितको टोलीले आज सानो ठिमीमा रहेका राष्ट्रिय परीक्षा बोर्ड र जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण एवं अवलोकन गरेको छ ।

सो क्रममा बोल्दै शिक्षामन्त्री पौडेलले निरीक्षणका क्रममा कर्मचारीलाई  नतिजा आउने गरी समन्वय गरी ईमान्दारीपुर्वक काम गर्न निर्देशन दिनुभएको छ । उहाँले संस्था सुधार्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।शिक्षामन्त्री पौडेलले संविधानले व्यवस्था गरेका जनताका शैक्षिक हकलाई व्यवहारमा प्रकट हुने गरी काम गर्नुपर्नेमा जेड दिनुभयो । काम गर्दा सबै संकल्पकृत भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले काम गर्ने क्रममा आई पर्ने समस्याका गाँठा फुकाउन आफूले समन्वय गर्ने बताउनुभयो ।

मन्त्री देवेन्द्र पौडेलले परीक्षा अगावै प्रश्न पत्र परीक्षा बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न परीक्षा बोर्डका कर्मचारीलाई आग्रह गर्नुभयो ।परीक्षा बोर्डमा भएका समस्याहरूको रिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्री पौडेलले कर्मचारीलाई निर्देशन समेत दिनुभयो । ।कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको बताउँदै मन्त्री पौडेलले प्राविधिक कुरा मिलाएर नतिजाको शीघ्र प्रकाशनमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

यसैगरी जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पुर्‍याउन निर्देशन दिनुभयो । मन्त्री पौडेलले १ कक्षा देखि १२ कक्षासम्मका पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने बताउँदै  जनक शिक्षाले गुणस्तरीय छपाइ, पुस्तक ढुवानीमा सहजता र विद्यार्थीको हातमा एकै पटक पुस्तक पुराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुराना मेसिनहरूको तथ्याङ्क सङ्कलन गरी मन्त्रालयमा ल्याउन निर्देशन दिँदै आवश्यक परे नयाँ मेसिन खरिदका लागि अर्थ मन्त्रालय मार्फत पहल गरिने बताउनुभयो ।मन्त्री सहितको टोली समक्ष बोर्डका सदस्य सचिव दुर्गा अर्याल र केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।