कोरोना संक्रमणविरुद्धको खोपको समस्या नहुने मन्त्रीको दाबी


ईश्वरराज ढकाल, काठमाडौं  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोना संक्रमणविरुद्धको खोप लगाउन लाइन अब बस्नु नपर्ने ठोकुवा गर्नुभएको छ । उहाँले सबै नेपालीलाई सजिलै खोप लगाउन सरकारले योजना तयारी गरिरहेको जिकिर गर्दै सरकारले खरिद गरेको खोप धमाधम आइरहेको अवस्थामा खोपको समस्या नहुने दाबी गर्नुभयो ।

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगै मन्त्री खतिवडा फाइजर खोपको अभियानको अवलोकन गर्न त्रिवि शिक्षण अस्पताल पुग्नुभएको थियो । सोही क्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । सर्वसाधारणले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई जुनसुकै बेला खोप लगाउन सक्ने गरी योजना बनाइरहेको जानकारी गराउँदै मन्त्री खतिवडाले भन्नुभयो- ‘सरकारको उच्च प्राथमिकतामा रहेको खोप अभियानलाई सफल बनाउन सजिलै खोप पाउने व्यवस्था गर्र्न लागेका हौं । हाल वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा अस्पतालमा २४ सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ ।’

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पनि खोपको समस्या नभएको बताउनुभयो । २ करोड ५० लाख मात्रा खोप नेपाल आइपुगेको र त्यति नै मात्रामा आउने क्रम रहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘अब सबै नेपालीलाई पुग्ने गरी खोप आउने क्रम निरन्तर जारी रहन्छ ।’प्रवक्ता डा. पौडेलले यसअघि दशैं र तिहारमा राजधानी छाड्ने सबै यात्रुलाई खोपको व्यवस्था गरेको र अब सबैलाई तोकिएको अस्पताल र खोप केन्द्रबाट सजिलै खोप दिने गरी तयारी भइरहेको बताउनुभयो ।

मन्त्रालयले सबै स्थानीय तहका वडा, तोकिएको अस्पताल, स्वाथ्य केन्द्रलगायतका क्षेत्रबाट खोप अभियान सञ्चालन गरिरहेको छ । ललितपुर महानगरपालिकाले हिजो र आज अभियान चलाएको छ ।मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कुल जनसंख्याको झन्डै ३० प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । १८ वर्षमाथि खोप लगाउने लक्षित जनसंख्या करिब २ करोड रहेकोमा अहिलेसम्म करिब ४४ प्रतिशतले पहिलो मात्रा खोप र ३७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांक छ ।

मन्त्रिपरिषद्को अघिल्लो बैठकले १२ वर्षका बालबालिकादेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई लगाउन मिल्ने फाइजर खोपको ६० लाख मात्रा खरिद गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयसँगै केही महिनापछि अधिकांश स्कुले बालबालिकाले फाइजर खोप लगाउन पाउनेछन् । मन्त्रालयले त्यसको आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीले खोप लगाए पनि १२ देखि १५ उमेर समूहका विद्यार्थीले खोप लगाउन पाएका छैनन् । देशैभरका विद्यालय पूर्णरूपमा खुलेसँगै विद्यार्थीलाई खोप व्यवस्थापन गर्न मन्त्रालयले गृहकार्य शुरु गरेको जनाएको छ ।