निर्यात ११० प्रतिशतले बढ्यो तर व्यापार घाटा उस्तै


नेपाल समाचारपत्र, काठमाडौं  । 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वस्तु निर्यात १०९ दशमलव ५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दशमलव ३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७ दशमलव १ प्रतिशत, १९ दशमलव ४ प्रतिशत र २७ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात घटेको छ ।

तीन महिनाको अवधिमा कुल वस्तु आयात ६३ दशमलव ७ प्रतिशतले वृद्धि भई ४७८ अर्ब ५२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२ दशमलव ७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८ दशमलव ४ प्रतिशत, ५५ दशमलव २ प्रतिशत र १२४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुनलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सूर्तीलगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । तीन महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा ५८ दशमलव ३ प्रतिशतले वृद्धि भई ४१३ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३ दशमलव ६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव ६ प्रतिशत रहेको थियो ।

भारतबाट अमेरिकी डलर भुक्तानी गरी ५४ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३३ अर्ब ९२ करोड बराबरको भएको थियो । बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४१ दशमलव ७६ प्रतिशत र ५८ दशमलव २२ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शून्य दशमलव शून्य ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२ दशमलव ६ प्रतिशत, शून्य दशमलव ९ प्रतिशत र ६६ दशमलव ५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ प्रतिशत, पुँजीगत वस्तुको ११ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५१ दशमलव २ प्रतिशत, १३ दशमलव १ प्रतिशत र ३५ दशमलव ७ प्रतिशत रहेका थिए ।