डा. बाबुराम बसेको घर अब होमस्टे


नेपाल समाचारपत्र, हेटौंडा । 

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई एक साँझ बनकरिया बस्तीमा बास बस्नुभएको थियो । उहाँ सोमलाल बनकरियाको घरमा बास बसेर सपत्नी बनकरियाकै घरको भुईंमा पलेटी कसेर पातमा खाना खानुभएको थियो ।

स्थानीयसगको अन्तक्र्रियामा डा. भट्टराईले जनताआवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्न र लालपुर्जा उपलब्ध गराउन तत्काल पहल गर्ने आश्वासन दिनुभएको थियो । डा. भट्टराईले आफू बसेको घरका मालिक सोमलाललाई १० हजार रुपियाँ नगद र दुई वटा ब्ल्याङ्केट उपहारस्वरूप दिनुभएको थियो ।यतिमात्र होइन, देशकै लोपोन्मुख जाति बनकरियालाई प्रदेश सरकारले व्यवस्थित घर बनाइदिने आश्वासन दिएको थियो । प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले बनकरिया बस्ती अवलोकनपछि उनीहरूलाई मनहरी गाउँपालिकाको कुनै व्यवस्थित स्थानमा सार्ने आश्वासन दिनुभएको थियो । बनकरियाका लागि राम्रो घर, खेलमैदान, विद्यालय, खानेपानी र बिजुली आदिको सुविधासहित घर निर्माण गरिने उहाँले आश्वासन बाँड्नुभएको थियो ।

त्यहाँ पुगेर बनकरिया जातिका लागि छुट्टै बस्ती बसाउन प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पौडेलले बताउँदा बनकरिया जाति जति हर्षित बनेका थिए, सरकारको व्यवहारमा त्यस्तो देखिएन । प्रदेश सरकारले गाउँपालिकाले खोजेको मनहरी–६, जोगीतालको सुनाचुरी क्षेत्रको जग्गामा एकीकृत बस्ती निर्माण गरेर उनीहरूलाई राख्ने बताएको थियो ।प्रदेश सरकारले एकीकृत बस्ती निर्माणका लागि बजेटमा रकम पनि छुट्याएको थियो । बनकरियाले घर निर्माण गरिदिए जंगलको बस्ती छाडी एकीकृत बस्तीमा बस्ने इच्छा जनाउँदै आएका छन् । बनकरियालाई एकीकृत बस्तीमा केकसरी राख्न सकिन्छ भन्ने विषयमा अवलोकन गर्न मुख्यमन्त्री पौडेल बस्ती नै पुग्नुभएको थियो ।

आफूले बोलेका कुरा पूरा नभए पनि मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४, मुसेधापमा रहेको बनकरिया बस्तीमा पालिकाले निर्माण गरेको होमस्टेको भने पौडेलले उद्घाटन गर्नुभयो । बस्तीमा पूर्वप्रधानमन्त्री डा. भट्टराई वास बसेको घरलाई नै पालिकाले होमस्टेका रूपमा निर्माण गरेको हो ।बनकरिया बस्तीलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे निर्माण गरिएको हो । नेपालमै लोपोन्मुख बनकरिया बस्ती हेर्न र उनीहरूको रहनसहन बुझ्न आउनेलाई बस्न सहज होस् भन्ने उद्देश्यले होमस्टे निर्माण गरिएको हो । मनहरी गाउँपालिकाको ८ लाख लगानीमा होमस्टे निर्माण गरिएको पालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

एउटै भवनमा ३ वटा कोठा तयार गरिएका छन् । पाहुनालाई सबै व्यवस्था मिलाउन लागिएको छ । बनकरिया बस्तीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको बताउँदै पालिका अध्यक्ष उप्रेती भन्नुहुन्छ–बनकरियालाई सधैं सहयोग गर्नेभन्दा पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने र उनीहरूलाई आत्मनिर्भर बनाउने सोचसाथ होमस्टे निर्माण गरिएको हो । बनकरिया बस्तीमा उत्पादन भएका तरकारी, अन्न, फलफूल, स्थानीय खोलाको माछा, त्यहींको घट्टमा पिँधिएको पीठोका परिकार खुवाउने लक्ष्यसाथ होमस्टे निर्माण गरिएको उहाँले बताउनुभयो ।

चुरेघाँचको जंगलमा फिरन्ते जीवन बिताउँदै आएका बनकरिया समुदाय कबुलियती वनमा बस्न थालेको दशक बितेको छ । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मनहरी–४, हाँडीखोलास्थित मुसेधापमा सरकारले २० वर्षका लागि उपलब्ध गराएको ९ हेक्टर जमिनमा उनीहरू बस्दै आएका छन् ।समुदायलाई घर बनाइदिने भनिए पनि जग्गा आफ्नो हुनुपर्ने जनता आवास कार्यक्रमको मापदण्डका कारण उनीहरू प्रभावित भएका छन् । उनीहरूको नाममा भवन निर्माणका लागि आएको बजेट आफ्नो नाममा जग्गा नभएकै कारण पटकपटक फ्रिज हुँदै आएको छ ।
२०७१ साल असार दोस्रो साता कार्यक्रमअन्तर्गत बनकरिया समुदायलाई घर निर्माणका लागि प्रतिघर २ लाख ४ हजार रुपियाँ छुट्याइएको थियो । पर्सा राष्ट्रिय निकुञ्जले बनकरिया बस्तीलाई अन्यत्र सानुपर्ने बताएको छ । मुसेधापमा हाल २१ घरपरिवारमा ९७ बनकरिया बसोबास गर्दै आएका छन् ।