दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं  ।

आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रले गत शैक्षिक सत्रमा कक्षा १ र ११ को नयाँ पाठ्यपुस्तक लागू गरेको थियो । त्यस्तै, चालू शैक्षिक सत्रमा कक्षा २, ३ र ६ को नयाँ पाठ्यक्रम लागू भइरहेको छ । केन्द्रले आगामी शैक्षिक शत्र अर्थात् २०७९ मा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तक लागू गर्ने तयारी गरेको छ । त्यसका लागि पुस्तक लेखन कार्य अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

केन्द्रका निर्देशक एवं प्रवक्ता गणेश भट्टराईले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउन लागेको ४, ७ र ९ कक्षाको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक नमुनाका रूपमा देशभरका ७६ विद्यालयमा लागू भएको जानकारी दिनुभयो ।

उहाँले ती विद्यालयमा शिक्षक, विद्यार्थी र सरोकारवालासँग सुझाव संकलन गरी सोही आधारमा संसोधनसहित पुस्तक लेखन शुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तीनवटा कक्षाका पुस्तकको विषयमा अनलाइनबाट सुझाब संकलन गरी अन्तिम लेखन शुरु गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘सरोकारवालाले दिएको सुझाव र कार्यदलले गरेको छलफलअनुसार पुस्तक तयार गरिएको हो ।’

केन्द्रले ती कक्षाका पाठ्यपुस्तकका प्रिन्ट रेडी कपी (पीआरसी) तयारी गर्ने क्रममा रहेको जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा आगामी शैक्षिक सत्रबाट लागू हुने गरी कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक छपाइ गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा आगामी शैक्षिक सत्रबाट लागू हुने पाठ्यपुस्तकको पीआरसी तयारी भइरहेको छ ।

केन्द्रले शैक्षिक सत्र २०८० मा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । केन्द्रका महानिर्देक अणप्रसाद न्यौपानेले ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ अनुरूप शैक्षिक सत्र २०८० सम्म सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउन सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

संघीयता कार्यान्वयन भएपछि ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने व्यवस्था अनुसार ५ वर्षभित्र सबै पाठ्यक्रम लेखन गरी सोहीअनुसार कार्यान्वयन गरिएको केन्द्र भनाइ छ । २०८० सम्म नयाँ पुस्तक लागू भएपछि १० वर्षसम्म सोही पुस्तक पढाइ हुने भएको छ । केन्द्रले प्रत्यक वर्ष एक–एक कक्षाको नयाँ पाठ्यक्रम तयारी गर्ने गरेको छ ।

यसैबीच केन्द्रले प्राविधिकतर्फ ९ देखि १२ कक्षाको नयाँ पाठ्यक्रमका आधारमा पुस्तक तयार गर्ने भएको छ । विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहेको पाठ्यक्रम परिषद्को करिब एक साताअघि बसेको बैठकले पाठ्यक्रम स्वीकृत गरेको हो ।