मतदाता नामावली संकलन गर्नेे तयारी अन्तिम चरणमा

0
Shares

सुनील महर्जन, काठमाडौं ।

मतदाता नामावली संकलन र व्यवस्थापन गर्ने निर्वाचन आयोगको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगले १८ वर्ष पूरा भएका नेपाली नागरिकको मतदाता नामावलीमा समेट्न सो कार्य शुरु गर्न लागेको हो ।

छुटेका मतदाताको नाम संकलनका लागि स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । आयोगले शुरूमा ७ सय ५३ स्थानीय तहका सबै वडास्तरमा गएर नामावली संकलन गर्ने योजना बनाएको थियो । तर समय, बजेट र आवश्यकतालाई समेत हेरी स्थानीय तहमा गएर नामावली संकलन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । यसका अतिरिक्त इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट हुने मतदाता संकलनसम्बन्धी कार्य हुने छ । यो दुवै कार्यका लागि तत्काल ११ करोड रुपियाँ निकासा गरिनुपर्ने प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको छ ।

अर्थ मन्त्रालयले बजेट निकासा गर्नासाथ अभियान शुरु हुने आयोगले जनाएको छ । बजेट आउना साथ ७ सय ५३ ठाउँमा पठाउने जनशक्तिका लागि अभिमुखीकरण तालिम शुरु गर्ने भएको छ ।

सम्बन्धित स्थानीय तहको केन्द्रमा निर्वाचन कार्यालयका कर्मचारीलाई खटाएर मतदाता नामावली अद्यावधिक गर्ने कार्यसूची आयोगले बनाएको छ । मतदाताले आफ्नो स्थानीय तहको केन्द्रमा खटिएका कर्मचारीसम्म पुगेर मतदाता नामावली अद्यावधिक गर्नुपर्ने भएको छ ।

मतदाता संकलन अभियान पहाड र हिमाली क्षेत्रका पालिकाको हकमा १० दिनसम्म चल्ने छ । त्यस्तै, तराई–मधेसका स्थानीय तहको हकमा १५ दिनसम्म अस्थायी स्टेसन कायम गरेर मतदाता नामावली संकलन गर्ने आयोगले तयारी गरेको छ ।

त्यसै गरी, आयोगले मतदाता नामावलीका सन्दर्भमा केही नयाँ प्रावधान अघि सार्ने भएको छ । मतदातालाई विगतमा जस्तो नामावलीमा नाम टिपाउन झन्झट नहुने गरी व्यवस्थापन गर्न लागिएको आयोगले दाबी गरेको छ ।

आयोगका अनुसार मतदाता नामावली संकलन अभियानमा छुटेका मतदाताले चुनावको मिति घोषणा हुनु अघिसम्म आफ्नो पायक पर्ने जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता नामावली अद्यावधिक गर्न सक्ने भएका छन् ।

काठमाडौंमा बसोबास गर्ने बाहिरी जिल्लाको मतदाताले यहीको स्थानीय तह वा निर्वाचन कार्यालयमा गएर नाम टिपाउन सक्नेछन् । यसरी टिपिएको बाहिरी जिल्लाको नामावली सोही स्थानीय तहमा पठाइने र मतदान गर्ने बेला आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा जानुपर्ने आयोगका अधिकारी बताउ“छन् ।

यसबाहेक ७७ वटै जिल्ला प्रशासन कार्यालय र देशभरका ६४ वटा इलाका प्रशासन कार्यालयबाट पनि मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ ।

सरकारले निर्वाचनको मिति घोषणा नगरुन्जेलसम्म यी सरकारी कार्यालयमा जहिलेसुकै मतदाताले नाम दर्ता गर्न पाउने छन् । नामावली कहिलेदेखि शुरु हुने भन्ने कुरा अब अर्थ मन्त्रालयमा भरपर्ने जानकारी दिँदै प्रमुख आयुक्त थपलियाले अर्थले बजेट दिनासाथ काम शुरु हुने बताउनुभयो ।