घाँटी हेरेर हाड ननिल्दा तरलतामा चाप : गभर्नर



नेपाल समाचारपत्र, काठमाडौं  ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्षको शुरुमै कर्जाको माग वृद्धि हुँदा बैंकिङ प्रणालीको तरलतामा केही चाप परेको बताउनुभएको छ । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले कर्जाको वृद्धिदर बढ्दै गर्दा सरकारी खर्च भने न्यून हुँदा चाप परेको बताउनुभएको हो ।

आर्थिक वर्षको शुरुका महिनामा नै कर्जाको वृद्धिदर केही बढी रहँदा तरलतामा चाप पर्न गएको र आयातको वृद्धिदरसमेत केही बढी भएको हुँदा शोधनान्तर स्थिति र वैदेशिक मुद्राको सञ्चितिमा केही चाप परेको गभर्नरले स्पष्ट पार्नुभयो । छोटो अवधिमै ३२ प्रतिशतको ग्रोथ भएको उल्लेख गर्दै गभर्नर अधिकारीले आफूले शुरूमा नै घाँटी हेरेर हाड निल्न आग्रह गरेको प्रशंग कोट्याउनुभयो । गभर्नर अधिकारीले भन्नुभयो–‘हामीले नै रि–पेमेन्ट ६ महिनापछि गरे हुन्छ भनेर सुविधा दियौं । सेवाग्राहीले पनि त्यो सुविधालाई हेरेर बस्नु भयो । फलस्वरुप अहिले तरलतामा चाप परेको छ ।’ उहाँले अब संयमित भएर अर्थतन्त्रलाई चाहिने कर्जा र त्यहीअनुसार आफ्नो ब्याजदर समायोजन गर्दै वित्तीय प्रणालीलाई स्टेबल बनाउनुपर्ने सुझाव दिनुभयो ।

बैंकिङ क्षेत्रको निक्षेप, कर्जा, ग्राहक संख्या शाखा सञ्जाल अपेक्षाअनुसार नै रहेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाले अल्पकालमा असाधारण नाफाको अपेक्षा गर्नुभन्दा दीर्घकालीन रूपमा सबल रहने सोच राख्नुपर्ने सुझाव दिँदै नियामकीय निर्देशनमा छिद्र खोज्ने, गलत व्याख्या गर्ने र सरोकारवालाको अपेक्षालाई नजरअन्दाज गर्ने गर्दा समग्र वित्तीय प्रणालीमा जोखिम थपिन सक्नेतर्फ गभर्नर अधिकारीले सचेत गराउनुभएको थियो ।

बैंकहरूले व्यवसाय बिस्तार गर्दा अर्थ प्रणालीमा ध्यान दिनुपर्ने, स्रोत, निक्षेपको संरचनाको आधारमा कर्जा प्रवाह गर्न अरुले सम्झाउनु पर्ने र तरलतामा थोरै तलमाथि हुँदा उपलब्ध औजारमार्फत् व्यवस्थापन गर्नुभन्दा पनि अत्तालिने प्रवृति देखिएको उल्लेख गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि उत्तिकै वा अझ बढी प्रतिफलको अपेक्षा गर्नु जायज हुँदैन। घुमाइफिराइ विविध प्रकारका शुल्क बाध्यात्मक अवस्था सिर्जना गर्नु न्यायोचित नहुने धारणा राख्नुभयो । खुला तथा उदार अर्थतन्त्रमा संस्थाहरुको स्वस्थ प्रतिस्पर्धाबाट सेवाग्राहीले सस्तो र सुलभरुपमा सेवा प्राप्त गर्दछन् भन्ने मान्यता राखिएको हुन्छ । तर, नेपालको वित्तीय क्षेत्र विकासको एउटा चरणबाट गुज्रिँदै गरेको अवस्थामा यदाकदा केही संस्था आफ्नो उद्देश्यबाट विचलन हुन खोजेकोमा चिन्ता व्यक्त गर्नुभयो । वित्तीय क्षेत्रमा चुनौती बढेको उल्ले गर्दै संस्थागत सुशासन, प्रविधिको बढ्दो प्रयोग र निहित जोखिम, जनशक्ति व्यवस्थापन, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, महामारीपछि ऋण असुलीका मुद्दा, अर्थतन्त्रको वृद्धिदर र बैंकिङ क्षेत्रको वृद्धिदरमा तादात्म्यता राख्नु, बढ्दो शोधनान्तर घाटाको व्यवस्थापन, मूल्यवृद्धिजस्ता विषय पेचिलो बन्दै गएको गभर्नर अधिकारीको भनाइ छ।

बैंकर्स संघमा नयाँ नेतृत्व

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित हुनुभएको छन् । उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी हुनुहुन्छ । यस्तै, उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन हुनु भएको छ ।

संघको नयाँ कार्यसमितिमा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार, सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सदस्य चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्